कञ्चनपुर, १७ कात्तिक ः शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको र नगरपालिकाको ५०÷५० प्रतिशत अनुदानमा गरी रु छ करोड ८० हजार चार सय १४ मा ठेक्का प्रक्रिया मार्फत खानेपानी आयोजना निर्माण अगाडी बढाइएको छ ।
आयोजना निर्माणको ठेक्का सम्झौता विसं २०८० वैशाख २७ गते भएकोमा निर्माण विसं २०८१ असार १८ गते भित्र गरिसक्नु पर्ने थियो । निर्माण निर्धारित समय भित्रै गर्न नसकिए पछि म्याद थप गरी कार्य भैरहेको छ । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार खानेपानी आयोजनका लागि बोरिङ ड्रिल गर्ने कार्य पुराभै दुई सय २५ घनमिटरको टङकी निर्माण अन्तिम चरणमा पुगेको छ ।
डेढ तले कार्यालय भवन र पर्खाल निर्माणको कार्य पुराभै रङगरोगन,विद्युत जडानको कार्य भैरहेको छ । उभोक्ताको घर घर सम्म खानेपानी पुर्याउनका लागि २२ दशमलव ९७ किलोमिटर पाइपलाईन विछ्याउने कार्य पुरा भएको शाखा प्रमुख धामीले बताउनु भयो । एक सय ६१ मिटर ट्रान्समिसन पाइपलाइन विछयाउने कार्य पुरा भएको छ । ठेक्का सम्झौता अनुसार पाँच सय ८५ उपभोक्ताको घरसम्म पाइपलाईन जडानदेखि धाराको टुटी जडान गर्ने योजना रहेको छ ।
वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुर लगायतका गाउँका बासिन्दाको घर घर सम्म खानेपानी पुरयाउने लक्ष्य राखिएको छ । आयोजनाको भौतिक प्रगती ८० प्रतिशत रहेको छ ।