कात्तिक १७, २०८१ शनिबार

काठमाडौँ, १७ कात्तिक : तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ ।  

   आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाएर त्यसलाई गोवर्द्धन  पर्वत मानेर पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन  पर्वतको पूजा गर्ने चलन बसेको हो । 

  कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो  । भगवान् विष्णुको आज्ञा अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ । दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र देउ शिर रे भनी देउसी खेल्ने परम्पराको सुरुआत् गरेको विश्वास छ । यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ ।
    
    प्राचीनकालदेखि नै गोरुले कृषि कर्मका लागि खेत, बारी जोतेर महत्वपूर्ण योगदान गर्दै आएको छ । महादेवको वाहनको रुपमा समेत पूजिने गोरु (साँढे)को आज पूजा गरी मीठा मीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ । यसैगरी गोरु जोत्ने हलिलाई पनि पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठो खानेकुरा दिइन्छ । यसैले आजको दिनलाई हल तिहार पनि भनिन्छ ।

    वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिइन्छ । तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्व रहेको सांस्कृतिक रुपमा अर्थ दिने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यसले वैदिक दर्शनको महत्वलाई स्थापित गर्ने उहाँको भनाइ छ ।