गलकोट (बागलुङ), २० कात्तिकः तिहारमा खेलिने देउसीभैलो पछिल्लो समय संस्कृतिको जगेर्नासँगै सामाजिक उद्देश्य राखेर खेलिएको छ । तिहारको संस्कृति संरक्षणसँगै विद्यालय सुधार गर्न, कोष स्थापना गर्न, पूर्वाधार बनाउनलगायत उद्देश्य राखेर देउसीभैलो खेल्न थालिएको हो ।
बागलुङ बजारका चोकचोकमा तिहारमा देउसीभैलोका गीत गुञ्जिएका थिए । गाउँघरमासमेत तिहारको रौनकता छाएको थियो । क्षत्री समाज बागलुङ, मगरसङ्घ बागलुङ, डाइनामिक डान्स ग्रुप बागलुङ, सुनौलो बागलुङ र मगर आमासमूहलगायतको देउसीभैलोले बागलुङ बजार सहित अन्य क्षेत्र गुञ्जयमान भएको थियो ।
क्षत्री समाजले कोष स्थापना गरेर आर्थिक अवस्था कमजोर भएका, गरिबको हितमा खर्चगर्ने उद्देश्य राखेर देउसीभैलोमार्फत रु तीन लाख सङ्कलन गरेको जनाएको छ । यस्तै मगर समाजले बागलुङले मगर एकताको सन्देश दिँदै मगर संस्कृतिलाई जोगाउनका लागि सङ्कलित रकम खर्च गर्ने जनाएको छ ।
देउसीभैलो कन्र्सटलगायत कार्यक्रम विभिन्न समयमा भए पनि यसले संस्कृति संरक्षण गर्न नसकेको जनगुनासोलाई चिर्दै नेपालको जातजाति र भाषा संस्कृतिलाई समेटेर भैलो देखाइएको मगर सङ्घ बागलुङका सचिवालय सदस्य तथा प्रचारप्रसार प्रमुख सङ्घ घर्तीले जानकारी दिनुभयो । मगर सङ्घले हालसम्म रु पाँच लाख सङ्कलन गरेको भन्दै सङ्कलित रकमले लोपोन्मुख मगर संस्कृतिको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गर्ने उहाँले बताउनुभयो ।
गरिब विद्यार्थीलाई कापी, कलम, दीर्घरोगीलाई उपचार खर्च जुटाउनका लागि सुनौलो संस्था बागलुङले बर्सेनि देउसीभैलो खेल्दै आएको संस्थाका अध्यक्ष दिलीप प्रतेलले उल्लेख गर्नुभयो । उहाँले सामाजिक काममा सक्रिय संस्थाले देउसीभैलोबाट सङ्कलन भएको रकमले दीर्घरोगी तथा शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग गरिरहेको बताउनुभयो । उहाँका अनुसार भैलोबाट रु दुई लाख सङ्कलन भएको छ ।
नेपालका सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएको देउसीभैलोमा नाचगान प्रस्तुत गरिएको प्रतेलको भनाइ छ । देउसीभैलोमा मारुनी, सालैजो, यानिमाया र सुनिमायाजस्ता गीतहरु देउसीभैलोमा घन्किएका छन् ।