कात्तिक २०, २०८१ मंगलबार

पाटन (ललितपुर), २० कात्तिकः गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् ।

    छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाउनुभएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बस्नुभएको छ । परिवारका सबै सदस्य गुमाएर एक्लै बाँच्नुभएका डुकुमानलाई दसैँतिहारको उमङ्गभन्दा पनि परिवारका सदस्या गुमाउँदाको पीडाले विछिप्त बनाएको छ । कसैसँग राम्रोसँग कुरा गर्नसमेत नसक्ने अवस्थामा डुकुमान पुगेको उहाँका दाजु जिरामानले बताउनुभयो । “खानपिन पनि त्यति ध्यान दिएर खाँदैन, आफ्नै सुरको कुरा गरिरहन्छ, हिँडिरहन मात्रै खोज्छ”, उहाँले भन्नुभयो । 

    बाढीपहिरो आएको दिन आफ्नो घर सुरक्षित ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा ५० मिटर तल रहेका सात घरमा बाढी पस्न थालेको देखेर छिमेकीको उद्धार गर्न तल झर्नुभएका डुकुमानले उद्धारमा खटिरहेका बेला आफ्नो परिवारको भने उद्धार गर्न पाउनुभएन् । अरुलाई सुरक्षित स्थानमा ल्याइसकेको डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले परिवार र घर पुर्न थालेको देख्नुभयो, तर उहाँ घर पुग्नै पाउनुभएन । 

    “पहिरो यति तीव्र गतिमा झ¥यो कि उहाँ पुग्नुअघि उहाँको घर पुर्यो । गुहार माग्यो, चिच्यायो अनि थचक्क भुँइमा बसेर रुनुको विकल्प भएन् । उसले कसैलाई बचाउन सकेन्”, दाजु जिरामानले भन्नुभयो । 

    डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र नौ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो । खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन् । चारैजना कहीँकतै जिउँदै भेटिने आश उहाँलाई थियो । असोज १२ गते दिउँसो करिब ३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला पर्नुभयो । 

    “भ¥याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो, “श्रीमती राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ”, दाजु जिरामानले भन्नुभयो । परिवारका पाँचमध्ये डुकुमान एक्लै जीवित हुनुहुन्छ । उहाँका बुबा, आमा र दाइको पहिल्यै मृत्यु भइसकेको छ । उहाँ तीन वर्ष वैदेशिक रोजगारमा बसेर छ महिनाअघि मात्र स्वेदश फर्कनुभएको थियो ।

    डुकुमानलाई आश्रय दिएर राखिरहनुभएका जिरामानको सात रोपनीभन्दा बढी खेत बढीले बगाएर नष्ट गरेको छ । “आफ्नो भएको त्यही खेत हो, सबै बगाएर सखाप पार्यो । अन्न उब्जाउ हुने ठाउँ छैन”, उहाँले दुखेसो पोख्नुभयो । 

    बाढीपहिरोबाट विस्तापित बुद्धिमान स्याङ्तानको परिवार उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ रहेका छोराछोरीको डेरामा बसिरहनुभएको छ । “अब बस्ने ठाउँ पनि रहेन, अर्को व्यवस्था तत्कालै हुने अवस्था पनि देखिएन, त्यसैले छोराछोरीको डेरामा केही समय बस्न गएका छौँ”, माइती आउनुभएकी बुद्धिमानकी श्रीमतीले भन्नुभयो ।

    मानिखेलमा छको मृत्युु, दुई बेपत्तागरी आठ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाखका दरले उपलब्ध गराएको महाँकाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ मानिखेलका अध्यक्ष जोनीकुमार न्यासुरले बताउनुभयो । 

    “मृतकका परिवारलाई सङ्घीय सरकारले दिने रकम सम्बन्धित परिवारलाई दिइसकेका छौँ । सङ्घीय सांसद उदयशम्शेर राणाले रु २० हजार र पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा रु २५ हजार पनि उहाँहरुले पाइसक्नुभएको छ, स्थानीय सरकारले दिने रु १५ हजार राहत केही दिनमा उपलब्ध गराउनेछौँ”, अध्यक्ष न्यासुरले भन्नुभयो, “पुनर्वासका लागि वडा नं २ मानिखेलको टुटुवा डाँडामा व्यवस्था मिलाउने गरी पालिकाबाट निर्णय भएको छ । उक्त निर्णय विभिन्न निकाय हुँदै मन्त्रिपरिषद्बाट पारित भएपछि स्थायी संरचना निर्माण गरेर त्यहाँ सार्ने व्यवस्थाका लागि लागेका छौँ ।” 

    वडाध्यक्ष न्यासुरका अनुसार ठोट्ने खोलाका २९, लक्ष्यबासका तीन र मानिखेलबेंसीका छ परिवार गरी ३८ परिवार विस्थापित भएका छन् । “त्रिपालमुनि बस्नुपरेको अवस्था चाहिँ छैन, कोही आफन्तकामा, कोही गोठमा र कोही अध्ययनका लागि उपत्यकामा रहेका आफ्ना छोराछोरीको डेरामा बसिरहेका छन्”, उहाँले भन्नुभयो । 

    वडा नं ३ गोटीखेलका अध्यक्ष मनोजकुमार पराजुलीका अनुसार वटा नं ३ मा चार जनाको मृत्यु र १९ परिवारको घरबार पूरै नष्ट गरेको छ । अरु ५२ घर अतिप्रभावित भई बासिन्दालाई विस्थापित बनाएको छ । “खाद्यान्न भाँडाकुँडा र कपडा प्रत्येकले पाएका छन्, पुनर्वासका लागि व्यवस्था गर्ने काम हुँदैछ । विस्तृत विवरण पूरा नभएका कारण स्थानीय तहले दिने राहत दिन बाँकी छ, एक/दुई दिनमा वितरण गर्नेछौँ”, उहाँले भन्नुभयो । 

    विस्थापितको पुनर्वासका लागि स्थानीय तहले गरेको निर्णयअनुसार जिल्लाका सरोकार भएका सम्बन्धित सबै कार्यालयसँग समन्वयमा काम अगाडि बढिरहेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बताउनुभयो । 

    “विस्तापितलाई सुरक्षित स्थानमा बसाउने व्यवस्थाका लागि हामी लागिरहेका छौँ । उहाँहरुलाई बासस्थान निर्माण गर्न कम्तीमा आठ आना जग्गाको व्यवस्थापन गर्नुपर्छ, यसका लागि स्थानीय तहले सुरक्षित ठाउँ पहिचान गरेर निर्णय सिफारिस गरिसकेको छ । अब जिल्ला प्रशासन कार्यालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि यो कामले मूर्तरुप पाउनेछ”, प्रमुख फुयाँलले भन्नुभयो ।

    महाँकाल गाउँपालिकामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ छ । जिल्लामा बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको यस पालिकालाई ललितपुर महानगरले रु ५० लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय गरिसकेको छ भने बागमती प्रदेश सरकारले यही कात्तिक २ गते शुक्रबार बसेको बैठकको निर्णयले अतिप्रभावित स्थानीय तह घोषित गरी रु ७५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।