कात्तिक २३, २०८१ शुक्रबार

शीतलप्रसाद महतो

काठमाडौँ, २३ कात्तिक : दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो, सामा चकेवा । तराई मधेसमा प्रत्येक साँझ अहिले धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ । यो पर्व कात्तिक महिनाको द्वितीयादेखि पूर्णिमासम्म मनाइन्छ । द्वितीया तिथिका दिन दिदी­बहिनीले यो पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन छ ।

    पूर्वी तराई र मधेस प्रदेशको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति  हुन्छन् । छठ पर्वको खरना (पञ्चमी) का दिन मूर्तिहरूलाई सेतो बनाउनका लागि अरूवा चामलको लेपन गरिन्छ । त्यसपछि सुहाउँदो र इच्छानुसारका रङ्गहरू प्रयोग गरी सामालाई सिंगारिन्छ । हरिबोधिनी एकादशीभन्दा पूर्व सम्पूर्ण सामग्री बनाइ सकिन्छ । तराई भेगमा घरघरमा माटोको मूर्तिहरू बनाउनुलाई महिलाको मूर्तिकलाप्रतिको चाख र कौशल प्रदर्शन गर्ने माध्यमको रूपमा पनि लिइन्छ । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग  र श्रद्धा प्रदर्शित गर्दछ ।

    यो पर्व बालिकाहरूको भए पनि युवती र प्रौढहरू उत्साहपूर्वक खेल्ने गरेको देखिन्छ । छठ पर्वको खरना वा पारणदेखि तराईका महिलाले माटोको आकृति बनाइ राति एउटा ढक्कीमा राखी दीप बालेर घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गर्दछन् । । यो पर्वमा ‘सामा’ स्त्री पात्र अर्थात् दिदीबहिनी र ‘चकेवा’ पुरूष पात्र अर्थात् दाजुभाइलाई बुझाउँछन् । दुईटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । यसमा सामा चकेवालगायत चुगला (कुरौटे), ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला (कुरौटे) भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् । 

    परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा कुरा लगाउने प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’ र कुचोको मसाल बनाई गाउँ÷टोल घुमाउँदै सार्वजनिकस्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ ढडाउने चलन छ । कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैँ सुमधुर बनाइराख्न चुक्ली (कुरौटे) लगाउने प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’को जुँगा ढडाउने गरिन्छ । 

    सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी सम्वादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन् र कुनै बेला कुरौटेको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छन् ।

    ‘गामके अधिकारी तोहे बरका भैया हो,
    भैया हातदश पोखरी खुनाइ दिय,
    चम्पा फूल लगाइ दिय
    सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’

    अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनिदिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा–चकेवा खेल्ने तथा समूह मै सबैले सबैको दाजुभाइको लागि दिदिबहिनीले दीर्घायुको कामना गर्ने गर्छन् । राति खाना खाइसकेर एउटा बाँसको चोयाबाट निर्मित डालोमा सामा (बहिनी), चकेवा (भाइ), चुगला (कुरौटे), वृदावन (झगडिया) र सात भाइको माटाको मूर्ति बनाएर त्यसमा दियो बाली समूहमा घरको आँगनमा वा बाटोमा गई ध्यानमग्न भई दिदीबहिनीहरुले यस्तो सुरिलो स्वर घन्काउँछन् ः
         गङ्गा रे जमुनवा कि हो चिकन माटी,
         आरे कोरी दिए सवके ।
         भैया गङ्गा वैसी, माटी बनाए दिए सबके
         मौजी, सामा जोर चकेवा हेर,
         खेलल लागल सवको बहिनो ।

    समाज र परिवार जहाँ हुन्छ, त्यहीँ कुरा लगाउने, षड्यन्त्र गर्ने प्रवृत्तिका मानिसजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोकधुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ । महिला जब आ–आफ्नो घरबाट डालामा मूर्ति राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनी गाउँछिन् ः

    डालाले बहार भेली, बहिनी से पलाँ बहिनो
    फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी ।
    
    यो गीत गाएर चेलीबेटीले दुवो र चामल लिएर डालोमा भएको सबै मुर्तिहरु माथि छर्किदिन्छन् । यसरी हाँसो ठट्टा, मनोरञ्जन र गीत गाउँदै मनाउने यो पर्वमा सामा र चकेवाबीचको प्रेम र स्नेहलाई भताभुङ पार्न खोज्ने आरोप लगाउँदै नौ दिनसम्म चुगला र वृदावन (झगडिया) लाई गीत गाउँदै जलाइन्छ । दिदीबहिनीले दाजुभाइलाई आशिष दिँदै यस्तो गीत गाउँछन् :

    ‘जीव जीव’ जीव की मोर भैया जीव’
    कि तोर भैया जीव
    जैसन धोवियाके पाठ तैसन भैयाक पीठ
    जैसन करडिक थम्ह तैसन भैयाक जाँघ’

    अर्थात्, मेरो दाजुभाइ वर्षौंवर्षसम्म बाँचुन्, धोबीले लुगा धुने धाटजस्तै पिठ्यूँ र करडिकको बोटजस्तै तिघ्रा बलियो होस् । जब चुगला (कुरौटे) को बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट (जुट) मा दाहिने आगो लगाउँदै निभाउँदै महिला यस प्रकारको गीत गाउँछिन् ः
        
    ‘धान–धान–धान, भइया कोठी धान
    चुगला कोठी भुस्सा । ’

    यो गीतमा प्रतीकात्मकरूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने कुरा लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्नै काम गरिएको छ । सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् । वृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ :
    ‘वृन्दावनमे आगि लागै
    कोइ ने मिझावे हे
    हमर भैया फलना भैया 
    दौडि–दौडि मिझाबे हे ।’

    यस पर्वमा दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामनाका साथै मार्मिक, मनोरञ्जक एवं मर्मस्पर्शी गीति संवाद बोल्छन् ः
    
    कानि खिजि चिठिया लिखौलनि
    फलाँ बहिनो भैजौलनि हजामका हाथ
    चिठिया दिहन्हि हो भैया, फलाँ भैयाके हाथ
    भेला घोडा पर सवार
    बाबाक सम्पतिया हो भैया
    भतिजबा के ओ आस
    हम परदेशिन हो भैया
    सिन्दुरवा केर हो आस ।

    यो गीतमा बहिनीले भाइलाई हजाममार्फत पत्र पठाउँछिन् । भाइ पत्र पाउनेबित्तिकै घोडामा सवार भई सिन्दुर र टिकुलीसहित बहिनी कहाँ आउँछन् । बहिनीले मसँग धनसम्पति पर्याप्त छ, मलाई तपाईसँग मेरो सिन्दुरको रक्षाको आशा मात्र छ भनी उल्लेख गर्नुले भाइबहिनीको शाश्वत प्रेमलाई दर्साउँछ । मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा–चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा हो । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ ः

    ‘सामचको, सामचको अइह हे
    जोतल खेतमे बइसिह हे ।’

    पूर्णिमाका दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आई बस्नु है भन्दै सबै माटोका पात्रको विसर्जन गरिने चलन छ । परम्पराअनुसार अन्तिम गीत गाइसकेपछि सामा चकेवा र सात भाइलाई भसाईन्छ भने चुगला (कुरौटे) र वृदावन (झगडिया) लाई पूर्णरुपमा जलाएर खेतमा गाडिन्छ । यो विधि सकेपछि त्यहिँ सबै दिदीबहिनीहरुले आ–आफना दाजुभाइलाई पठाएको मिठो परिकार खुवाई घर फर्कन्छन् । सामा चकेवा पर्वले दिदीबहिनी र दाजुभाइबीचको स्नेहपूर्ण वातावरणको अनुभूति दिन्छ ः–

    आबह सामा, आबह चकेवा हे अपन देश
    भाइ मोर हे आशीष दैह
    जीबह भाइ लाख बरीस
    हमर सामा हे कार्तिक मास ।

    पूर्वी तराई र मधेस प्रदेशका दिदीबहिनीले सामा चकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।

    यसरी सुरु भयो सामा चकेवा पर्व

    मधेसमा सामा चकेवाको प्रचलन प्राचीनकालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्म पुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रण, चुगला गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसंगको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना छ ।

    पद्म पुराणमा उल्लेख भएअनुसार श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरू लगाइदिन्छ । त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शंका गरी चरी बन्ने सराप दिन्छन् । चारुबक्य श्यामाको वीरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रूपमा वृन्दावनमा बस्न थाल्दछन् ।

    यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्ब फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनि दिएको श्रापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ । आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ । यसपछि भगवान् विष्णु साम्वाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि ‘सामा–चकेवा’को पर्व प्रचलित भएको मान्यता रहिआएको छ । सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरारूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ ।

    स्कन्द पुराणअनुसार श्यामा (सामा) र चकेवा पति–पत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगला (कुरौटे) ले कृष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे ! कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए । भाइ सम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनयविनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कात्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा)को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । यता चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग बस्न थाले । त्यसै क्रममा उनीहरूको बास रहेको वृन्दावनमा विरोधीले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानवरूपमा अवतरण भएको आख्यान रहेको छ ।

    द्वापरयुगदेखि चली आएको सामा–चकेवा पर्व केवल मधेस प्रदेशमा मात्र होइन, नेपालका पूर्वी तराईका भेगका थारु जनजातिले पनि हर्षाेल्लास र विशेष उत्साहका साथ मनाउने गर्दछन् । हरेक वर्ष छठ पर्वको एक दिन पहिलेदेखि पूर्णिमासम्म नियमित नौ दिन दाजुभाइ हुने र नहुने दिदी बहिनीहरुले आफ्ना दाजुभाइको लामो आयु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने गरिन्छ । पूर्णिमाका तिथिमा नजिकैको पोखरी वा नदीमा सामा चखेवा भसाउने (विसर्जन) गरेपछि यो लोकपर्वको समापन गरिन्छ ।