कात्तिक २४, २०८१ शनिबार

मन्थली (रामेछाप), २४ कात्तिक : निर्माण कार्य सम्पन्न भएको तीन वर्ष नबित्दै रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमको घ्यानसिङ डाँडामा निर्माण गरिएको शिब–बुद्ध उद्यान जीर्ण बनेको छ । 

    खाँडादेवी गाउँपालिकाले २०७८ सालमा रु १० लाखको लागतमा निर्माण गरेको उक्त उद्यान संरक्षण अभावमा जीर्ण बन्दै गएको हो । गाईबाख्रा चराउने र घाँसदाउरा गर्नेहरुले उद्यानका संरचना तोडफोड गरेका छन् । उद्यानका गमला फुटालिएका छन् भने पानीको फोहरा दिने विद्युतीय तार चँुडाइएको छ ।   

    उक्त उद्यानबाट वरिपरिको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ शिव र बुद्धको मूर्ति राखिएको छ । फूलका गमलाले उद्यानलाई सजाइएको छ । पालिकाले यसको संरक्षण गर्न जरुरी रहेको सिन्धुलीबाट उद्यान घुम्न आउनुभएका राजन कार्कीले बताउनुभयो ।   

    खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले उद्यान चाँडै मर्मत गरिने बताउनुभयो । यहाँ आन्तरिक र बाह्य पर्यटक दृश्यावलोकनका लािग बेलाबेलामा  आउने गरेका छन् ।