कात्तिक २४, २०८१ शनिबार

खोटाङ, २४ कात्तिक : रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । 

    क्याम्पस व्यवस्थापन समितिले महिला र दलित विद्यार्थीलाई छुट दिने निर्णय कार्यान्वयनमा आइसकेको क्याम्पस प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । “अन्य विद्यार्थीलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । रावा क्याम्पसमा अध्ययनरत स्नातक तहका सबै विद्यार्थीले वर्षमा रु १० हजार शुल्क बुझाउनुपथ्र्याे । यस वर्षबाट महिला र दलित समुदायका विद्यार्थीले रु पाँच हजार र अन्य विद्यार्थीले रु सात हजार पाँच सय मात्र बुझाउनुपर्छ”, उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षा शास्त्र सङ्कायमा स्नातक तहको पठनपाठन भइरहेको छ । क्याम्पस व्यवस्थापन समितिको यो निर्णयले विद्यार्थी उत्साहित भएका छन् ।”

    विसं २०६५ मा स्थापना भएको रावा क्याम्पसमा खोटाङसहित छिमेकी जिल्ला ओखलढुङ्गाका विद्यार्थी अध्ययनरत छन् । क्याम्पसका लागि आवश्यक कक्षाकोठा र छात्राबासको भवन भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको छ । एउटै विषयमा पठनपाठन भइरहेको रावा क्याम्पसमा पुस्तकालय, कम्प्युटर प्रयोगशालालगायत सुविधा रहेको जनाइएको छ ।