कात्तिक २५, २०८१ आइतबार

बलेवा (बागलुङ), २५ कात्तिकः कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो । यही मेसोमा एक दिन उहाँले किबीखेती गर्ने निर्णय गर्नुभयो । 

गाउँमा ‘गोपाल सर’ का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाल्नुभयो । गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उहाँ नमूना किसान हुनुभएको छ । विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उहाँलाई आर्थिक रूपमा पनि सबल बनाएको छ । उहाँले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो । सरल कृषि फार्ममार्फत उहाँका उत्पादन बजारमा पाइन्छन् । 

विसं २०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उहाँले किबी खेती सुरु गर्नुभएको थियो । किबीखेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो । दश रोपनी जग्गामा एक सय ५० बोट किबीखेती गर्नुभएका उहाँले बिरुवा सारेको तीन वर्षमा नै लगानी उठाएको बताउनुभयो । 


उहाँको बारीमा फलेका  किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन् । प्रतिकिलो रु तीन सयदेखि चार सय ५० सम्ममा बिक्री हुने गरेको छ । किबीखेतीबाट उत्साहित गोपाल सरले २० रोपनी पाखोबारीमा ओखरखेती पनि प्रारम्भ गर्नुभएको छ ।