विराटनगर, २५ कात्तिकः कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्दको उपदेश र मार्गदर्शनलाई पालन गरे धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्न सकिने बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले आज किरात धर्मका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै अहिंसावादी, सत्यवचन र धर्मकर्ममा निष्ठावान् समाज सुधारक महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्मार्गको पालनमा जोड दिनुभएको हो ।
मन्त्री कार्कीले भन्नुभयो, “जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, शिक्षा र समाज सुधारका साथै किरात धर्मको उत्थान तथा संरक्षणका निम्ति लागिरहने प्रेम र अहिंसाका प्रतीक फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ ।” उहाँले संवाद, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढेर मुलुकलाई अगाडि बढाउन सकिनेमा जोड दिनुभएको छ ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको विसं १९४२ मा कोसी प्रदेशको इलाममा जन्मनुभएका फाल्गुनन्दलाई सरकारले विसं २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । कोसी प्रदेश सरकारले उहाँको जन्मजयन्तीका दिनमा सार्वजनिक बिदासमेत दिँदै आएको छ ।