महोत्तरी, २६ कात्तिकः मधेशको मिथिलाक्षेत्रका दीपावली र छठसहितका मुख्य चाडबाड भर्खर सकिएका छन् । अहिले चाडपर्व सकेसँगै मैथिललाई खेतीपातीमा धान थन्क्याउने र हिउँदेबाली लगाउन भ्याइनभ्याइ छ । यसै व्यस्तताबीच मैथिललाई छठको ‘सनेस’ (कोसेली) पु¥याउने चटारो छ ।
छठ सकेका मैथिल परिवारका गृहिणी अहिले नन्द, आमाजू, फुपू सासू, छोरी र मितमितिनी कहाँ कोसेली पठाउन ठकुवा पकाउन तथा भुसुवा (कसार) बटार्न व्यस्त छन् । पर्वको कोसेली यी सम्बन्धमा पठाउने स्थापित परम्पराले अहिले मिथिलानी (मैथिल गृहिणी) को व्यस्तता बढाएको हो ।
“कति धान काटिएर पसी (काटेको धान खेतमा फिजाएर सुकाइने काम)मा छ, कति बोटमै पाकेर पहेँलपुर छ, वर्षभरि खाने अन्न थन्क्याउनु छ”, भङ्गाहा–४ रामनगरकी शान्तिदेवी साह भन्नुहुन्छ, “यसैबेला छठको सनेस पठाउन पनि भ्याइनभ्याइ छ ।” तीन छोरी कहाँ कोसेली पठाइसक्नुभएकी उहाँले अब दुई नन्द र एक फुपूसासू कहाँ पुग्न बाँकी रहेको बताउनुभयो ।
गृहिणीहरु कोसेली बनाइरहँदा घरका पुरुषले खेतीपातीका काम र कोसेली पु¥याउने कामको चाँजो मिलाउनु परेको छ । धान काट्ने, दाईं गर्ने, थन्क्याउनेदेखि हिउँदे बालीमा गहुँ, चना, मुसुरो छर्ने तथा र उखु तथा आलु रोप्ने बेला यही परेको छ । खेतीपातीका काम र कोसेली पु¥याउने पारम्परिक काम भ्याउन पर्दा सास फेर्ने फुर्सत नभएको शान्तिका पति हरिदेव साह बताउनुहुन्छ ।
मिथिलामा छठ पर्व सकिएको महिना दिनसम्म ‘सनेस’ पठाइने गरिन्छ । कोसेलीका परिकार घरका गृहिणीले बनाए पनि पु¥याउन पुरुष नै जानुपर्ने हुँदा अहिले मैथिल परिवार यो पारम्परिक काममा अल्झेका छन् । मिथिलामा कोसेली पठाउनसँगै एक महिनासम्म घरको खाजामा पनि छठ पर्वकै सामग्री खाजामा प्रयोग गर्ने बाक्लो चलन छ ।
अहिले बस्तीबस्तीका घरघरै ठकुवा, भुसुवा तयार गरिँदा छन् । पालैपालो समय मिलाएर सनेस पठाइँदो छ । आम रुपमा देखिने यो चलनले पूरै मिथिला क्षेत्रमा अहिले छठको ‘सनेस’को मौसम देखिएको हो । मिथिलामा मनाइने सबैजसो पर्वपछि ‘सनेस’ लाने पुरानो चलन भए पनि पछिल्ला वर्षमा यो क्रम पातलिँदै गएको छ । छठ र तिलासक्रायत पर्वको ‘सनेस’ चाहिँ अझै पु¥याइँदैछ ।
महत्वपूर्ण चाडबाडपछि आफन्त परिवारका मान्यजनसँगको भेटघाट र कुशलक्षम बुझ्न पूर्वजहरुले यो परम्परा बाँधेका पाका मैथिल बताउँछन् । यो परम्पराले भेटघाट र कुशलक्षम बुझ्नसँगै आपसी प्रेम सुमधुर तथा सुदृढ बनाउने हुँदा पूर्वजले बसाएका यो थिति यथासक्य निर्वाह गरिनपर्ने बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय नथुनी महतो बताउनुहुन्छ ।