कात्तिक २८, २०८१ बुधबार

मनहरी (मकवानपुर), २८ कात्तिकः प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशको संसदीय दलका प्रतिनिधिले सरकारले जनता केन्द्रित कार्य सम्पादन गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । 

    आज मुख्यमन्त्री कार्यलय हेटौँडामा ज्ञापनपत्र बुझाउँदै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकार गठन भएको एकसय दिन पुगिसकेको भन्दै प्रदेशको समग्र विकासमा सरकार केन्द्रित हुन नसकेको आरोप लगाउनुभयो । उहाँले सरकार सङ्घीयताको मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

    दलका नेता जम्कट्टेलले विकासको आकाङ्क्षा र आवश्यकतालाई सम्बोधन गर्दै सरकार अगाडि बढनुपर्ने उल्लेख गर्नुभयो । आठ बुँदे मागसहित विभिन्न विषयमा ज्ञापनपत्र बुझाउँदै दलले विभिन्न समयमा सर्वदलीय बैठकले गरेका निर्णय अविलम्ब कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । 

    ध्यानाकर्षण पत्रमा सङ्घीयताको संस्थागत शुद्धिकरण, सुशासन र प्रदेशको विकासमा केन्द्रित हुनुपर्ने माग राखिएको छ । गत असोज ११ र १२ गते आएको बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएका भन्दै पीडितका समस्यालाई तत्काल सम्बोधन गर्न माग गरिएको छ ।