कात्तिक २८, २०८१ बुधबार

काठमाडौँ, २८ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ । 

    यसअघि पार्टी सचिवालयको बैठकले पार्टीको तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको थियो ।

    “वर्तमान अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै उक्त उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको छ”, कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो । 

    पार्टीको केन्द्रीय समितिको गत असोज १३ गते बसेको बैठकले आसन्न उपनिर्वाचनका लागि रास्वापको उम्मेदवारी दर्ताको आधिकारिकता दिने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको थियो । मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई उक्त अधिकार दिने निर्णय गरेको हो । 

    योसँगै पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिनुभयो ।