सिरहा, ३० कात्तिकः सिरहाको मिर्चैैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै रहेको चुनिया खोलामा पानी सुक्दै जानथालेपछि चिन्ता बढेको छ । गाईबस्तुलाई खुवाउने पानीको लागि त्यही खोलामा रसाइरहेको पानीमा आश्रित चमेलीजस्तै यस खोरियागाउँका २६ घरपरिवालाई अब पानीको जोहो कसरी गर्ने चिन्ताले सताएको छ ।
दैनिक १०÷१५ गाग्री पानी ओसार्ने चमेलीले सुक्दै गरेको खोलातर्फ देखाउँदै सिङ्गो हिउँद समय कसरी पानीको समस्या टार्ने जनाउँदै चिन्ता व्यक्त गर्नुभयो । “दिनदिनै खोलाको पानी सुक्दै जान थाल्यो । अबको एक÷दुई दिनमा गाग्रो भर्नै समस्या होला जस्तो छ”, गाग्रोमा पानी भर्दै गर्नुभएकी उहाँले भन्नुभयो,“हिउँदको छ महिना पूरै गाउँ काकाकुल हुन्छ । खोला, इनार, कुवा सबै सुक्छन् । मान्छेलेसमेत तिर्ख मेट्ने मुस्किल हुन्छ, बस्तुभाउको के कुरा ।”
चुरेको फेदमा अवस्थित यो गाउँ सुख्खा क्षेत्र भएकोले बर्सेनि खानेपानीको हाहाकार हुने स्थानीयवासी खड्गबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो,“मङ्सिर नलाग्दै पानीका स्रोत सुक्न थाले । पानीकै चरम अभावले बसाइँ सर्ने अवस्था आइसक्यो । न त अघाउञ्जेल पानी पिउन पाइन्छ, न त कुनै बालिनाली सप्रिन्छ । हाम्रो त उठीबासको अवस्था छ ।”
हिउँद समयमा अधिकांश चुरे क्षेत्रका पानीका स्रोत सुक्ने भएकाले दुई घण्टाको बाटो दक्षिणतर्फ धाएर फूलबारियाबाट पानी ओसार्नुपर्ने नियती उहाँले दोहो¥याउनुभयो । दुई दशकदेखि खोरिया गाउँमा बस्दै आउनुभएका विश्वकर्माका अनुसार अहिलेसम्म गाउँमा खानेपानी, विद्युत् र सडकसमेत विस्तार भएको छैन । चुनावताका विकासका आश्वासन पाउने गरेपनि सधैँभरी गरिबी, अभाव र पीडामा जिन्दगी चलिरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “आसैआसमा जिन्दगी जानेभो हजुर । हामी गरिबको लागि कुनै सरकार रहेनछ ।” अन्नको नाउँमा परम्परागत कोदो खेतीमात्र वर्षमा एक पटक उत्पादन गर्नु यहाँका किसानको बाध्यता हो । अन्य बाली खडेरीले खाने विश्वकर्माको भनाइ छ ।
खोरियागाउँमा पानीको समस्या बारेमा मिर्चैया नगरपालिका बेखबर छैन । गत आर्थिक वर्ष दुई किलोमिटर दक्षिणतर्फ रहेको मौरहामा मधेश प्रदेश सरकारको स्रोतबाट ‘डिपबोरिङ’ गाड्ने भनी अध्ययनसमेत भइसकेको मिर्चैया ७ का वडाध्यक्ष रामदयाल ठाकुर बराहीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा त्यो योजना पूरा गर्नेगरी यस भेगमा अभाव हुने खानेपानीको समस्या समाधान गर्न आँफु लागिपर्ने वडाअध्यक्ष बराहीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनको असरका कारण चुरे क्षेत्रका अधिकांश क्षेत्रका कुवा, इनार र खोला सुक्ने हुँदा नगरपालिकाको मात्र नभएर देशकै लागि चुनौती बन्दै गएको नगरप्रमुख श्रवणकुमार यादवको भनाइ छ । अघिल्लो वर्षको हिउँद समयमा कतिपय सुख्खा क्षेत्रमा ट्र्याक्टरमा पानी ओसारेर गाउँबस्तीतिर वितरण गरेको स्मरण गर्दै स्थानीयको समस्याबारे आफू जानकार रहेको र समस्या समाधानका लागि पहल गरिरहेको उहाँ बताउनुहुन्छ ।
“नगरपालिकाले चुरेक्षेत्रलाई लक्षित गरि यस आर्थिक वर्षमा तीनवटा डिपबोरिङ सम्पन्न गर्ने लक्ष्य राखेको छ, जसमध्ये वडा नं ९ को घुर्मीमा एउता बोरिङ चालु गरिएको छ । अन्य स्थानमा त्यसका लागि प्राविधिक अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो,“स्थानीय स्रोत र साधनकले मात्र सम्भव छैन । त्यसका लागि प्रदेश तथा केन्द्रमा पनि पहल गरिरहेका छौँ । पानीको चरम अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाउने छौँ ।” उहाँले नगरका उत्तरी भेगका खोरिया, रामपुरा, सुन्दरपुर, ननुवा लगायतका बस्तीमा पानीको समस्या देखिएको र अब एकीकृतरूपमा समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय चुरेक्षेत्रमा पानीका सतह गहिरिँदै जाँदा ठूला ‘डिपबोरिङ’ असफल भइरहेकाले यसको विकल्पका बारेमा योजना बनाउनुपर्ने जानकार बताउँछन् । वातावरणविद् दिनेश यादव भन्नुहुन्छ, “डिपबोरिङ पनि खानेपानी समस्या समाधानकको दीर्घकालीन उपाय होइन भन्ने कुरा अन्य ठाउँका अभ्यासले देखाइसकेको छ । त्यसैले चुरे संरक्षणका साथै यहाँका वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रणमा तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुको विकल्प छैन ।”