कात्तिक ३०, २०८१ शुक्रबार

म्याग्दी, ३० कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ ।  खानेपानी र विद्युत् सुविधाको अभावमा समुिद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरि प्रकृतिमा रमाउन जाने पर्यटकलाई समस्या भएको हो । 

घोडेपानीदेखि एकाबिहानै उकालो हिँडेर पुनहिल जाने क्रममा पदमार्गमा उज्यालो, मोबाइल, क्यामेरालगायत सामग्री चार्ज गर्न बिद्युत्, पिउन र शौचालयमा प्रयोग गर्ने पानी नहुँदा समस्या भएको काठमाडौँबाट आएका श्याम रञ्जितकारले गुनासो गर्नुभयो । 

“अध्यारोमा उकालो हिँड्न पदमार्गमा सडक बत्ती र मोबाइल, क्यामेरामा ब्याट्री सकिँदा पुनहिलमै चार्ज गर्ने सुविधा भए पर्यटकलाई सजिलो हुने थियो,” उहाँले भन्नुभयो “पानीको अभावमा शौचालय जाँदा समस्या भयो । बोकेर लगेको पानी महँगो पर्ने रहेछ् ।” 

पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले विसं २०८० पुष महिनामा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले घोडेपानीदेखि १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलसम्म लाइन पु¥याए पनि स्थानीयवासी र गाउँपालिकाले मिटरबक्स जडानमा बेवास्ता गर्दा बिजुली नबोलेको हो । 
केन्द्रका प्रमुख सत्यनारायण गामीले स्थानीयवासीको माग अनुसार पुनहिलमा करिब रु २५ लाख खर्चेर बिजुलीको लाइन पु¥याइएको बताउनुभयो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले मिटरबक्स जडानका लागि गाउँपालिकाले बेवास्ता गरेको गुनासो गर्नुभयो । 

पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ । एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपर्दा पर्यटकले मर्कामा परेको गुनासो गरेका छन् ।  अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पुनहिलको जग्गा गाउँपालिकाको नाममा नभएकाले त्यहाँ मिटरबक्स राख्न समस्या भएको बताउनुभयो । पुनहिल र तातोपानी कुण्डलगायत पर्यटकीयस्थलमा विद्युत् आपूर्तिका लागि एकै पटक पाँच वटा मिटरबक्स खरिद गर्न लागिएको उहाँले बताउनुभयो । 

चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी र त्यो भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन् ।  पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले रु चालिस लाख एक सयमा ठेक्का लगाएको छ ।