कात्तिक ३०, २०८१ शुक्रबार

विराटनगर, ३० कात्तिक : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने बताउनुभएको छ ।

    नेपाल प्रेस युनियन मोरङ शाखाद्वाराआज यहाँ आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले दुई ठूला दलले तयार गरेको संयन्त्रबाट दलहरुबीच समन्वय एवं समझदारी गर्न बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सातबुँदे सहमतिबाट बनेको वर्तमान सरकारले थोरै समयमा धेरै उल्लेखनीय काम गरेको चर्चा गर्दै सरकारले जनताको चाहनाअनुसार काम गरिरहेको बताउनुभयो ।

    बजेट पारित भइसकेपछि बनेको वर्तमान सरकार एउटा परिधिभित्र बसेर काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले दोस्रो संविधानसभा पछि जारी भएको वर्तमान संविधानको संशोधन संसद्ले गर्ने र कुनकुन विषयमा संशोधन हुने छलफल भइरहेको छ भन्नुभयो ।

    “प्रदेशले संविधानमा व्यवस्था भएबमोजिम अधिकार पाउँछ”।  उहाँले भन्नुभयो । अपचलन र ठगी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने र सरकार विधिको शासनको पक्षधर हो स्पष्ट पार्नुभयो । बङ्गलादेशलाई बिजुली बेच्ने सरकारको महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो ।