साउन २२, २०७८ शुक्रबार

मानिसको कर्तव्य के हो ? यसैको बोध गराउनु गीताको परम् लक्ष्य हो । श्रीकृष्णले यस उपदेशपछि अर्जुनलाई कर्तव्यपथमा अडिग रहन प्रेरित गरे । अन्ततः अर्जुनले युद्ध लडे । असत्यमाथि सत्यको जीत भयो ।

गीतामा कुल सात सय श्लोक छन् । गीतालाई ज्ञानको सर्वोच्च स्थान दिइएको छ । ज्ञानको प्राप्तिले नै मानिसको सबै जिज्ञासाको समाधान हुन्छ । त्यसैले गीतालाई सर्वशास्त्रमयी पनि भनिन्छ । गीताको सार हो- कर्म गर, फलको चिन्ता नगर । वा फलप्रति आशक्ति नराख ।

जब हामी फलको ईच्छा राखेर काम गर्छौँ, यदि त्यो प्राप्त भएन भने दु:खी हुन्छौँ । त्यसैले सुखी रहनका लागि केवल कर्म गरौँ, त्यो पनि निष्काम भावले ।

श्रीमद्भागवतगीतालाई ज्ञानको अद्भूत भण्डार मानिन्छ । गीताले हाम्रो सोच्ने, हेर्ने र बुझ्ने तरिकामा परिवर्तन ल्याइदिन्छ । जीवन र जगत्‌को वृहत्तर ज्ञान यसबाट आर्जन हुन्छ । यसले सङ्कटमा जुध्न पनि प्रेरणा दिन्छ ।

हामी कुनै पनि काम गरेपछि तुरुन्तै त्यसको नतिजा चाहन्छौँ । तर, विद्वान्‌हरू भन्छन्- धैर्य नहुँदा अज्ञान, दु:ख, मोह, क्रोध, काम र लोभबाट निवृत्ति मिल्दैन । गीताले मानव मात्रको जीवनमा प्रतिक्षण आउने सानाठूला संग्रामको सामना गर्न शक्ति दिन्छ । महाभारत एक धर्मयुद्ध मात्र होइन, कर्तव्यगाथा पनि हो । यसमा गीताका ज्ञान मोह एवं अज्ञानले ग्रस्त मानवको जीवनमा कर्तव्यको सर्वोच्वता बोध गराउँछ । के छ त गीतामा ?

१. जन्म लिनेका लागि मृत्यु उत्तिकै निश्चित छ । जसरी मृत्यु हुनेले जन्म लिन्छ । त्यसैले जुन कुरा अपरिहार्य छ, त्यसमा शोक नगरौं ।

२. नर्कको तीन द्वार छ, क्रोध, वासना र लालचा । अर्थात् हामीले भन्ने गरेको नर्कको स्रोत भनेको रिस, राग, क्रोध, वासना नै हो । यसले हाम्रो जीवन नै नर्कमय बनाइदिन्छ ।

३. क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ ।

४. कतिपय काम नगर्नु नै उत्तम हुन्छ । कति काम भने गर्नैपर्छ ।

५. सधै शङ्का उपशङ्का गर्ने, गुनासो गर्ने व्यक्तिका लागि कुनै पनि लोकमा सुख मिल्दैन ।

६. जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैनन्, त्यो मन शत्रु बराबर हो ।

७. जो व्यक्ति गुनासो गर्छन्, उसलाई कहिले पनि सुख मिल्दैन ।

८. मन एकदमै चञ्चल हुन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । यद्यपि अभ्यासले यसलाई वसमा राख्न सकिन्छ ।

९. यस जीवनमा कुनै पनि कुरा व्यर्थ हुन्छ ।

१०. व्यक्तिले जे चाहन्छन्, त्यो बन्न सक्छन् । यद्यपि त्यसका लागि आफ्नो ईच्छालाई पूर्ण विश्वासका साथ स्मरण गर्नुपर्छ ।

११. जो वास्तविक छैन, त्यसबाट कहिले पनि डर मान्नु हुँदैन ।

१२. हरेक व्यक्तिको विश्वास उसको स्वभाव अनुसार हुन्छ ।

१३. जुन कर्म प्राकृतिक हुँदैन, त्यसले जहिले पनि तनाव दिन्छ ।

१४. एक ज्ञानवान् व्यक्ति कहिले पनि कामुक सुखमा आनन्द लिदैनन् ।

१५. कर्मयोग एक ठूलो रहस्य हो ।

१६. जब व्यक्तिले आफ्नो काममा आनन्द लिन्छन्, तब उनी पूर्ण ठहरिन्छ ।

गीताको बारेमा केही तथ्य :

- यो विश्वकै महान् ग्रन्थमा एक हो ।

- गीता एकमात्र यस्तो ग्रन्थ हो, जसको जयन्ती मनाइन्छ ।

- गीताको पृष्ठभूमी महाभारतको युद्ध हो ।

– श्रीमद्भागवत गीताको १८ अध्याय छ र महाभारतको युद्ध पनि १८ दिन नै चलेको थियो ।

- अर्जुनलाई भगवान् कृष्णले गीताको उपदेश दिएका थिए ।

- गीताको भनाइ के छ भने, आफ्नो कर्तव्य पालनमा लाभ हानीबारे सोच्नु हुँदैन ।

- गीताको ७ सय श्लोकमा त्यस समस्याको समधान छ, जो हरेक व्यक्तिले कहिले न कहिले सामना गरिरहनु पर्छ ।

- गीता खासमा अनुपम जीवन ग्रन्थ हो । जीवन उत्थानका लागि यसको स्वाध्याय हर व्यक्तिले गर्नुपर्छ ।