कात्तिक ३०, २०८१ शुक्रबार

चितवन, ३० कात्तिकः जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

    उनीहरुले अनुमति नलिइ दुई वटा बँदेल पालेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार वन्यजन्तु पाल्न वन्यजन्तु पालनपोषणसम्बन्धी कार्यविधिअनुसार विभागबाट अनुमति लिनुपर्नेमा अनुमति नलिइ पालेको पाइएकाले पक्राउ गरिएको हो । व्यावसायिक रूपमा वन्यजन्तु पाल्न पनि अनुमति लिनुपर्ने उहाँले बताउनुभयो । 

    पक्राउ परेका दुवैलाई अवैध रूपमा वन्यजन्तु पालन गरेको अभियोगमा कारबाही हुने सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम निकुञ्जले सार्वजनिक गरेको छैन ।