तपाईंले बाटामा हिँड्दै जाँदा नयाँ कुरा देख्नुभयो भने सायद त्यसको फोटो वा भिडियो खिचेर अन्यलाई देखाउन सक्नुहुन्छ । नयाँ चीजबारेको जानकारी समाजमा ल्याउने पहिलो व्यक्ति बन्न सक्नुहुन्छ । तर, तपाईं त्यो कुराको निर्माणकर्ता मानिनु हुन्न । किनकि तपाईं त्यो वस्तु पहिलो पटक देख्ने मानिस मात्र हो । निर्माणकर्ता होइन । संयोगले तपाईंको नाम उक्त नयाँ चीजबारेको ज्ञान समाजमा पुर्याउने पहिलो व्यक्तिमा दर्ज हुन सक्छ ।
वैदिक मान्यताअनुरुप वेदको सवालमा ज्ञान मानव समुदायसम्म ल्याउन सहयोग गर्ने ऋषिहरूलाई त्यही रूपमा ग्रहण गरिन्छ । स्थापित मान्यतामा ध्यान र तपस्यामा एकाग्र भएर लामो समयसम्म मेडिटेसनमा रहन सक्ने व्यक्ति आफू रहेको वातावरणबाट विभिन्न सूचनाहरू प्राप्त गर्ने र त्यसलाई गहिरो अर्थ दिन सक्ने मन्त्र रुपी श्लोकमा व्यक्त गर्न सक्षम बन्न सक्छ । विगतमा हाम्रा ऋषिहरूले त्यही मार्ग अवलम्बन गरी दैविक ज्ञान प्राप्त गरी ती ज्ञानलाई मन्त्रको रूपमा संश्लेषण गरी समाजमा पुर्याउन सफल बने ।
हाम्रा चार वेद हाम्रा ऋषिहरूले आफ्नो ध्यानको मध्यमबाट दिव्य शक्तिमार्फत महसुस गरे । त्यसैलाई अर्थपूर्ण मन्त्रको रूपमा परिवर्तन गरी एक सन्ततिबाट अर्को सन्ततिसम्म हु-बहु पुर्याउन सफल बने । अक्षर र लेख्ने पद्धतिको विकास भएपछि लिपिवद्ध गरियो । त्यसैले हाम्रो मान्यतामा हाम्रा वेदहरूको कुनै सर्जक वा लेखक छैनन् । तसर्थ यसलाई श्रुतिअन्तर्गत राखियो । ज-जसले वेदको अध्ययन गरे र त्यसका आधारमा आफ्नो अवधारणा विकास गरी आफ्नोसमेत विचार मिसाएर अन्य सहायक ग्रन्थहरू तयार गरे, त्यसलाई स्मृति भनियो । हाम्रो परम्परागत मान्यतामा तपस्या वा अन्य उपयुक्त साधनामार्फत दिव्य ज्ञान प्राप्त गरी त्यसको उपादेयताको महसुस गरेर समाजमा आफूले भेटेको ब्रम्हज्ञान सन्ततिलाई हस्तान्तरण गर्ने ऋषिहरू अलौकिक पात्र हुन् ।
ऋषिजस्तै समाजमा प्रयोग हुने अर्को पनि शब्द छ- 'गुरु' । हाल हाम्रो समाजमा आध्यात्मिक अनुभव प्राप्त गरेका व्यक्तिका लागि गुरु शब्द प्रयोग गरिने गरेको भेटिन्छ । शाब्दिक रूपमा 'गुरु' शब्दको अर्थ ज्ञान प्राप्ति गर्न सहयोग गरी आफ्नो जीवनमा रहेको अज्ञानताको अँध्यारोलाई हटाउन सहयोग गर्ने व्यक्ति हो । जहाँ गुरु शब्दको 'गु' ले ज्ञानमा रहेको अन्धकारपनलाई जनाउँछ । त्यस्तै, 'रु' शब्दले अन्धकारबाट छुटकारा दिलाउने वा मुक्ति दिलाउने भन्ने अर्थ दिन्छ ।
हाम्रो परम्परामा गुरु शब्द अध्यात्ममा मात्र सीमित नभएर आफ्नो जीवनमा रहेको कुनै पनि आध्यात्मिक वा व्यावहारिक पक्षसँग सम्बन्धित अज्ञानता हटाएर ज्ञान दिलाउन सहयोग गर्न मुख्य भूमिकामा रहेको व्यक्तिलाई जनाउँछ । आफ्नो जीवनको अन्धकारबाट उज्यालोतर्फको यात्रामा अघि बढ्न प्रभावकारी भूमिका खेल्ने मुख्य पात्रलाई गुरुभावको आदर दिन सुझाइन्छ ।
अथर्व-वैदिक मन्त्रले टाउको तथा आँखाको दुखाइ, छालाको रोग, ज्वरो, कुष्ठरोग, क्षयरोगजस्ता माइक्रोबियल रोगहरू, स्नायुसम्बन्धी रोगहरू आदिलाई निको पार्न प्रभावकारी भूमिका खेल्छ भन्ने मान्यतामा आफूलाई वैज्ञानिक विचारधाराको सामाजिक अभियन्ता बताउनेहरूको व्यापक तिरस्कारको विषय बनिरहँदा स्वयम् विज्ञानको भने उनीहरूबाट व्यक्त विचारमा कुनै सहमति रहेको भेटिँदैन ।
एकातर्फ वेदका मन्त्रहरूको शक्ति र तिनको रोगको उपचारलाई प्रभावकारी बनाउने गुणलाई वेदमा उच्च प्रविधियुक्त पद्धति ठानिएको छ । आयुर्वेदले समेत यस्ता उपचार प्रणालीको सराहना गरेका धेरै प्रसङ्गहरू भेटिन्छन् । अर्कोतर्फ, विज्ञानले समेत यसलाई गलत प्रमाणित गर्न सकेको छैन । उल्टो एकपछि अर्को गर्दै गरिएका वैज्ञानिक परीक्षणमार्फत मन्त्रमा अद्भुत शक्ति हुने यथार्थ प्रमाणित हुने क्रम बढिरहेको देखिन्छ ।
सन् १७८५ मा एन्टोइन लाभोइजरले आफ्नो खोजका आधारमा ल अफ कन्जर्भेसन अफ मास भन्दै एउटा वैज्ञानिक नियमको प्रतिपादन गरे । संक्षिप्त रूपमा यसले भन्छ: पदार्थ न त सिर्जना गरिएको कुरा हो, न त नष्ट नै हुन्छ । सन् १८४२ मा जूलियस रोबर्ट मेयरले ल अफ इनर्जी कन्जर्भेसनको नाममा पहिलो ऊर्जा संरक्षणको सिद्धान्त पत्ता लगाए र संक्षिप्त रूपमा थर्मोडिनामिक्सको अर्को नियम लेखे- ‘ऊर्जा न त सिर्जना गरिएको हो, न त नष्ट नै हुने गर्दछ ।'
सन् १९०५ तिर अल्बर्ट आइन्स्टाइनले जब E = mc2 समीकरणको घोषणा गरे, नतिजास्वरुप दुवै वैज्ञानिक सिद्धान्तहरूको मिलन गरी भनियो, ‘ब्रह्माण्डमा पिण्ड (द्रव्यमान) र ऊर्जाको कुल मात्रा स्थिर रहन्छ ।'
त्यसपछि नै हालको वैज्ञानिक अवधारणा ‘शक्ति न त पैदा गर्न सकिन्छ, न त नष्ट नै । सकिन्छ त मात्र एक रूपबाट अर्को रूपमा परिवर्तन गर्न‘ भन्ने सम्पूर्ण अवधारणा प्रस्ट गर्न सकियो । हाम्रा बुद्धिविलासी महा-बौद्धिक वर्गलाई माथि उल्लेखित विज्ञानका कथाहरू प्राय: कण्ठस्थ रहेको भेटिन्छ । उनीहरूको चुरो समस्या उनीहरूले थाहा पाएर पनि थाहा नपाएको जस्तो अभिनय गर्ने, सुनेर पनि नसुनेको जस्तो बहानामा स्वीकार्न नचाहने दशौँ शताब्दीको आसपासका वेदको रूपमा संश्लेषण गरिएको वैज्ञानिक यथार्थता मात्र हो ।
वेदका अनुसार ब्रह्माण्डमा पुगेका कुनै पनि कुराहरू हराउने गर्दैनन् । आजभन्दा लाखौँ वर्षपहिले भएका कुराहरू नै किन नहोस्, तिनीहरू अझै ब्रह्माण्डमा रहने हुँदा कुनै उपयुक्त तरिकाबाट तिनीहरूबारे थाहा लाग्न सक्नेछ, किनभने तिनीहरूको आवाज अझै यही ब्रह्माण्डमा नै छ । हामीले सुन्ने ध्वनि जुन कम्पन र तरङ्गहरूको शृङ्खला हो, त्यो विभिन्न तरिकाबाट ब्रह्माण्डमा प्रसारित हुने गर्दछ । जस्तै: प्रकाशले आवाज बोक्न सक्छ । यसको इलेक्ट्रो - म्याग्नेटिक ऊर्जा रहन्छ । जुन आज आधुनिक विज्ञानले समेत प्रमाणित गरिसकेको छ ।
वेद भन्छ- तरङ्गित हावाका अणुहरूको घर्षणमार्फत उत्पन्न हुने ध्वनिमार्फत अर्को वस्तु, जनावर वा व्यक्तिबाट उत्पन्न भएको आवाज वा शब्द सामान्य अवस्थामा मानिसले महसुस गर्दछ । त्यसलाई आफ्नो अनुभवका आधारमा संश्लेषण गरी त्यसबारे आफ्नो मान्यता विकास गर्छ । जसमा आफ्नै प्रकारको कम्पन हुन्छ ।
प्रकाशको किरणको सन्दर्भमा भने प्रकाशको आफ्नो आफ्नै प्रकृतिको कम्पन हुन्छ । प्रकाशको ध्वनिको कम्पनको प्रकृति हाम्रो सामान्य कानले सुन्न सक्नेभन्दा सूक्ष्म र फरक ढङ्गको हुने गर्दछ । मानिस जब उक्त तरङ्गहरू सुन्न सक्ने गरी आफूलाई अभ्यस्त गराउन सक्दछ, तब उसले त्यहाँ रहेका सूक्ष्म आवाजहरूमा समेत पहुँच वृद्धि गर्न सक्छ ।
उक्त ध्वनिबारे आफूलाई अभ्यस्त गराउन सक्दा ध्वनिका आधारमा प्राप्त शब्दहरूलाई संश्लेषण गरी मानिसले त्यसमा रहेका विषयवस्तुबारे आफ्नो धारणा बनाउन सक्छ वा सुन्न र बुझ्न सक्षम हुन सक्छ । ब्रह्माण्डमा रहेका प्राय: सबै नै पदार्थले ध्वनि वा तरङ्ग उत्पन्न गर्ने हुँदा ध्यान र उपासनामार्फत ती आवाजहरू सुन्ने गरी आफ्नो क्षमता विकास गरेका तपस्वी हाम्रा पूर्वजले आफूलाई ऋषिको रूपमा आफ्नो इतिहास निर्माण गर्न सम्भव बनाएको देखिन्छ ।
वेदको ब्रह्माण्डमा रहेका कुनै पनि कुराहरू हराउने गर्दैनन् भन्ने अवधारणा होस् वा प्रकाशको किरणसँगै विभिन्न ध्वनिहरू हिँड्ने यथार्थ आधुनिक वैज्ञानिकहरूले पनि पुष्टि गरी स्वीकारेका कुरा हुन् । तपाईं तनहुँको बोकेखोलाबाट साइकलमा गुल्मीको मालिका गाउँ जमपोखरामा घुम्ती हाट बजारतिर लाग्नुभएको ५ घण्टापछि यदि मैले भटभटे लिएर तपाईंको पछिपछि आएँ भने तपाईंलाई मैले कविलास गाविसको जुगेडीतिर भेट्न सम्भव हुन्छ । जसले मलाई तपाईंको भौतिक शरीरको नजर गर्ने, तपाईंसँग बातचित गर्ने मौका उपलब्ध हुन सक्छ ।
त्यही सिद्धान्तका आधारमा टाइम मेसिन बनाउन सकियो भने हामीले आफ्नो बुढयौलीपनलाई तन्नेरी उमेरको समयमा पुर्याउन सकिन्छ भन्ने आधारमा धेरै गहिरो वैज्ञानिक अनुसन्धानहरू भइरहेका छन् ।
३८० न्यानो मिटरको तरङ्ग हुने प्रकाशको अल्ट्राभायोलेट किरणको उज्यालो छर्किदिँदा डीएनएमा रहेको थाई-माइनका दुई अणुबीचको सन्तुलन भत्काइदिएर बिग्रिएको डीएनएको पी-५३ नामक थुप्रो बनाइदिएर किटाणुको कोषिकाको नष्ट गरिदिने हुँदा आज खानामा रहेको हानिकारक ब्याक्टेरिया मार्न यूभी-प्रविधिको व्यापक प्रयोग भएको छ । त्यस्तै माइक्रो वेब, लेजर प्रविधि आज भोलि व्यापक प्रयोगमा छ ।
स्वस्थ मानिसको रगतमा नुनको मात्रा करिब ० दशमलव १५३ मोल प्रतिलिटरको हाराहारीमा, चिनी १४० मिलिग्राम प्रतिडेसिलिटरभन्दा कम अपेक्षा गरिन्छ । ३७ डिग्री सेल्सियसको शरीरको तापक्रम भएको मानिसको रगतको औसत अस्मोटिक प्रेसर ७ दशमलव ८ वारको हाराहारी रहने आशा गरिन्छ । हाम्रो वातावरणमा रहने धेरैजसो ई.कोली नामक ब्याक्टेरियाहरू तुलनात्मक रूपमा खासै हानिकारक हुँदैनन् । कतिपयले कहिलेकाहीँ हल्का पखाला लगाउने गर्दछन् । ई.कोलीको ओ-१५७:एच-७ जातको स्ट्रेनले भने हामीमा गम्भीर पेट काट्ने, दिसामा रगतमा देखिने प्रकृतिको पखाला लगाउने, बान्ता गराउने रोग लगाउँछ ।
वेदका अनुसार हाम्रो ब्रह्माण्डमा हामीले पहिचान गर्न सक्ने र नसक्ने श्रव्य ध्वनिहरू व्यापक रूपमा छन् । विज्ञानले आजको मितिसम्म श्रव्य ध्वनिको जैविक जीवाणुमा हुने प्रभावबारे अत्यन्त न्यून जैविक अनुसन्धानहरू गरेको छ । तर पनि जीव र श्रव्य ध्वनिबीचको सम्बन्धबारे भने केही अध्ययन भएका छन् ।
सन् २००९ को डिसेम्बरमा चीनको हेनान विश्वविद्यालय, झेजियाङ विश्वविद्यालय र वुहान विश्वविद्यालयले श्रव्य ध्वनिले सामान्य अवस्था र वातावरणीय तनावको अवस्थाअन्तर्गत ई.कोलीको कोषिकामा कस्तो प्रभाव पार्दछ भनी व्यापक अध्ययन अनुसन्धान गर्यो । अनुसन्धानको नतिजाअनुसार सामान्य स्थितिमा राखिएको ई.कोलीमा पुर्याइएको श्रव्य ध्वनिका कारण ई.कोलीको कोलोनी वा झुप्पाको वृद्धिमा उल्लेखनीय रूपमा वृद्धि भएको पत्ता लाग्यो ।
जब तिनै ई.कोली ब्याक्टेरियालाई चिनी र नुनयुक्त ओस्मोटिक तनावको वातावरणमा राखेर श्रव्य ध्वनि सुनाएर र सोबिना परीक्षण गरियो, तब ओस्मोटिक तनावको अवस्थामा भने श्रव्य ध्वनिले ई.कोलीको वृद्धिमा अत्यन्त धेरै निषेधात्मक प्रभाव बढाएको पाइयो । सामान्यतया ३० ग्राम प्रतिलिटरको नुनको मात्राले ई.कोली ब्याक्टेरियाको गतिविधि पूर्ण रूपमा निषेधित हुने गर्दछ । तर, जब आवाजको तरङ्ग र ध्वनिको उपस्थिति रहयो, त्यो समयमा २० ग्राम प्रतिलिटर नुन भएको वातावरणमा नै ई.कोली ब्याक्टेरियाको गतिविधि रोक्न सम्भव देखियो ।
संसारमै प्रतिष्ठित विश्वविद्यालयको ध्वनिको रोग निम्त्याउने परजीवीहरू नियन्त्रण गर्न सहयोग हुने २०१० मार्चमा एल्सेविएर साइन्स डिरेक्टमा प्रकाशित अनुसन्धानको विवरण निष्कर्षसहित नेसनल लाइब्रेरी अफ मेडिसिन, नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसनले सङ्ग्रहमा राख्यो ।
अनुसन्धानको यो नतिजामा वेदमा उल्लेख भएअनुरुप मन्त्रको ध्वनि स्वतन्त्र रहँदा मानव मात्र नभएर जीवजन्तुहरूका लागि समेत उत्थान गर्ने प्रकृतिको रहन्छ । जब उक्त जीव अर्को जीवमा हानि गर्ने उद्देश्यमा पुग्दछ, उसले प्रतिकूलता बेहोर्न पर्दछ । किनकि हानि गर्ने उद्देश्यमा एकापसमा तनावको अवस्था पैदा हुन्छ । तनावको अवस्थामा मन्त्रको ध्वनि तनावकारी पक्षका लागि प्रत्युत्पादक बनिदिन्छ । वैज्ञानिक परीक्षणको यो नतिजालाई वेदको अवधारणा पुष्टि गर्न सहयोग गर्ने नतिजाको रूपमा लिन सकिन्छ ।
धार्मिक जप, मन्त्र, विभिन्न प्रकारका ध्यान आदिको मानिसको न्युरल सह-सम्बन्धहरूका बारेमा थोरै भए पनि केही अत्यन्त गुणस्तरयुक्त र विस्तृत वैज्ञानिक अनुसन्धानहरू भएको बारे वैज्ञानिक समुदाय परिचित छ । सन् २०१९ मार्चमा नेचरको साइन्टिफिकमा प्रकाशित बहु-मोडल इलेक्ट्रोफिजिकल र न्यूरोइमिजिङ विधिहरूको प्रयोग गरेर गरिएको अनुसन्धानको रिपोर्टले जपका कारण मानिसको मस्तिष्कको पोस्टरियोर सिन्गुलेट कर्टेक्सको इजिनभेक्टर सेन्ट्रालिटीमा ठूलो गिरावट हुने पुष्टि गरेको देखिन्छ । अनुसन्धानकर्ताहरूको अनुमानमा जपका कारण मस्तिष्क क्षेत्रमा हुन पुगेको आन्तरिक डेल्टा ओसिलेसन यसका लागि जिम्मेवार छ ।
हालसम्म सबैभन्दा तीव्र गतिमा हिँड्ने भौतिक पदार्थमा प्रकाशको किरण रहेको अनुमान गर्ने विज्ञानले यदि आफूले प्रकाशको किरणभन्दा तीव्र गतिमा हिँड्ने तरिका पत्ता लगाउन सक्यो भने ब्रह्माण्डमा प्रसारित ती ध्वनिहरू सुनेर हाम्रो इतिहासमा भएका घटना क्रम पत्ता लगाउन सकिने विश्वास गर्दछ ।
समग्रमा यो अनुसन्धानले अथर्व-वैदिक मन्त्रले एक प्रभावकारी मनोवैज्ञानिक थेरापिको काम गर्ने हुँदा दिमाग र शरीरको अन्तरसम्बन्धमा सुधार ल्याई भौतिक शरीर र ऊर्जाको व्यवस्थापनमार्फत सोचाइ र गराइबीचको सामञ्जस्यता पैदा गर्छ र मानसिक स्वस्थता अभिवृद्धि गर्न बल पुर्याउँछ ।
वर्षात्को ध्वनि सामान्यतया शून्यदेखि २० किलो हर्ज हुने गर्दछ । स्वाभाविक प्राकृतिक क्रिया रहेको वर्षात्को ध्वनिले झट्टै निराश हुने मानिसको मस्तिष्कमा सङ्गीतले जस्तै आरामको महसुस गराउँछ । वर्षात्को बीचको मेघको गर्जनले भने मानिसमा तनाव उत्पन्न गर्दछ । किनकि गड्याङ गुडुङको आवाजले मानिसमा चिन्ता लगाउने हर्मोन कोर्टिसोलको मात्रा उच्च गरिदिन्छ ।
आरामको अवस्था भनेको मानिस अत्यन्तै कडा ध्यानमा केन्द्रित रहनुपर्ने वा विशेष कार्यमा संलग्न बनिरहन नपरिरहेको अवस्थालाई जनाउँछ । उक्त अवस्थामा मानिसको दिमागले आठदेखि बाह्र हर्जका तरङ्गहरू उत्पादन गर्ने गर्दछ । तिनै तरङ्गका कारण मानिसले अपेक्षाकृत शान्त र आरामको महसुस गर्छ । जसलाई अल्फा तरङ्गको नाम दिइएको छ ।
अध्ययनहरूले पत्ता लगाएअनुसार वर्षाको आवाज मानिसको दिमागमा प्रवेश गर्दै गर्दा दिमागले अन्जानमै विश्राम लिने गर्दछ । फलस्वरुप त्यहाँ अल्फा तरङ्गहरू उत्पादन हुन पुग्छन् । यो मानव निद्रामा पर्दा हुने दिमागको नजिकैको अवस्था हो । सामान्य भाषामा भन्दा वर्षात्को टिक-टिकको आवाजलाई मस्तिष्कले अद्भुत लयवद्ध लोरीको रूपमा महसुस गर्ने हुँदा यसले मानिसलाई चाँडै निदाउन मद्दत गर्दछ ।
तिब्बती सुक्खा पहाडी भूभागमा चीनको सिंघुवा विश्वविद्यालयको स्टेट कि लेबोरेटरी अफ हाइड्रो साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक वाङ गुआङकियानको नेतृत्वमा सन् २०२० मा आवाजको प्रयोगमार्फत मौसमको हेरफेर गर्न सकिने - नसकिने विषयमा एक अनुसन्धान गरियो ।
अनुसन्धानकर्ताहरूले आकाशतर्फ विशाल लाउड-स्पिकर फर्काएर कम-फ्रिक्वेन्सीको ध्वनिको तरङ्ग छाड्दा फराकिलो तिब्बती सुक्खा पहाडी भूभागमा उनीहरूले १७ प्रतिशतसम्म वर्षा बढेको भेट्टाए । उनीहरू ध्वनि शक्तिले बादलको फिजिक्समा परिवर्तन ल्याउन सम्भव हुने निचोडमा पुगे ।
सफल अनुसन्धानपश्चात् सावधानीपूर्वक पिएर- रिभ्युसमेत पूरा गरी प्रतिष्ठित जर्नल साइन्टिया सिनिका टेक्नोलोजीले २०२१ जनवरीमा प्रकाशित गरेको उक्त अनुसन्धानको निचोडले कम-फ्रिक्वेन्सीको ध्वनिको तरङ्गको प्रयोग गरी सुक्खाग्रस्त क्षेत्रमा वर्षा गराउन सकिने भएको समाचार विश्वभर पुग्यो । बेइजिङस्थित सिंघुवा विश्वविद्यालयका अन्वेषकहरूले गरेको उक्त अध्ययनको नतिजाले वेदले उल्लेख गरेको मन्त्रमार्फत वर्षात् गराउन सकिने विषयको वैज्ञानिक पुष्टि गरिदिएको छ ।
(क्यानडानिवासी नारायण घिमिरे खाद्य वैज्ञानिक र औषधिविज्ञ हुन ।)