मंसिर १, २०८१ शनिबार

भक्तपुर, १ मङ्सिरः सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर प्राङ्गनमा आजदेखि साताव्यापी निःशुल्क योग शिविर सुरु भएको छ ।

    पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुर, डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, सूर्यविनायक नगरपालिकासमेतका संयुक्त आयोजनामा सुरु भएको शिविरमा आज बिहान वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उद्घाटन गर्नुभयो ।

    उहाँले योगलाई घरघरमा जोड्नुपर्ने र योगबाट स्वस्थ्य जीवन खोज्ने वातावरण सबैतिर सिर्जना गर्नुपर्ने बताउँदै योगलाई गाउँ, टोल, संघसंस्था र विद्यालयसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।

    कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले योगलाई दैनिक जीवनको साध्यको रुपमा लैजानुपर्नेमा जोड दिँदै विद्यालयलाई योगसँग जोडेर लैजान प्रशासनको तर्फबाट नेतृत्व लिने बताउनुभयो ।

    कार्यक्रममा पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले पातञ्जललाई देशभर फैलाएर नेपाली जनलाई योगमय बनाउने अभियान सुरु गरेको बताउनुभयो । समितिका वरिष्ठ उपाध्यक्ष नवराज काफ्लेले जिल्लाका चारवटै पालिकालाई योगमय बनाउने अभियान लिएर आफू टोलटोलमा पुगेको बताउनुभयो ।

    शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कमला ज्ञवाली, वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, डोलेश्वर समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले साताव्यापी योग शिविर सम्पन्न भएसँगै यस क्षेत्रमा योग केन्द्र स्थापना गरेर दैनिक योग सञ्चालन गर्ने बताउनुभयो ।

    आजको योग शिविरमा करिब ३०० जनाको सहभागिता रहेको थियो भने मन्त्री थापादेखि स्थानीयले एक घन्टा ३० मिनेटसँगै योग गर्नुभएको थियो ।