साउन २२, २०७८ शुक्रबार

६ दशकदेखि नेपाली कला तथा गायन क्षेत्रमा सक्रिय कलाकार मदनकृष्ण श्रेष्ठले पहिले पहिले गीत गाउँदा पैसा पाइने भए तापनि अहिले गीत गाउँदा उल्टै पैसा तिर्नुपर्ने गुनासो गरेका छन् । उनले भने–‘पहिले गीत रेडियो नेपालको स्टूडियोमा मात्र रेकर्ड हुन्थ्यो । रेकर्ड भइसकेपछि सो गीत रेडियोमै बज्थ्यो । हामीले, उक्त समयमा गीत रेकर्ड गराएपछि १२ रुपैयाँ रोयल्टी पनि पाउथ्यौं । तर, अहिले उल्टो भएको छ । गीत तयार पारेपछि पैसा सकिन्छ । अहिले त गीत मात्र बनाएर नहुने, यसको भिडियो बनाउनुपर्ने । प्रचार गर्नुपर्ने ।’

मदनकृष्णले नेपाली चलचित्र नभएको समयमा म्यूजिक भिडियाले कलाकार र प्राविधकलाई बचाएको पनि तर्क गरे । उनले भने–‘अहिले चलचित्र छैन । तर, म्यूजिक भिडियाले चलचित्रका प्राविधिकहरूलाई बचाएको छ । भिडियोमा काम गरेर धेरैको घर चलेको छ । म्यूजिक भिडियोले दर्शकलाई मनोरञ्जनसमेत दिएको छ ।’