मान्म (कालीकोट), १ मङ्सिरः स्थानीय तह उपनिर्वाचनका लागि कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्त, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हो ।
शुक्रबार उपनिर्वाचनको व्यवस्थापन र कार्यसम्पादन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नै गर्नका लागि कार्यालयको स्थापना गरिएको छ । कालीकोटको तिलागुफा–४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीको निधनपछि उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
रिक्त रहेको स्थानमा यही मंसिर १६ गते निर्वाचन हुन लागेको त्यसको कार्यतालिककाअनुसार कार्यालयको स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पन्तले बताउनुभयो । ‘निर्वाचन कार्यतालिकाअन्तर्गत आइतबार उम्मेदवारी दर्ता हुनेछ”, उहाँले भन्नुभयो, “त्यसैको पूर्वतयारीका रुपमा कार्यालयको स्थापना गरिएको हो ।” कूल ६०९ मतदाता रहेको वडा नं ४ मा एउटा मात्रै मतदान केन्द्र कालिका माध्यमिक विद्यालय राँचुलीमा रहेको छ ।