मंसिर १, २०८१ शनिबार

गण्डकी, १ मङ्सिर : गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले नवीनतम प्रविधि तथा आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई साकार पार्ने बताउनुुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान), कास्कीको १०औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले नवीनतम प्रविधि तथा आविष्कारमा जोड दिनुुपर्ने आवश्यकता औँल्याउनुुभयो ।     
     
 सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारले जोड दिएको बताउँदै उहाँले सरकारले चालु बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता दिँदै पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको बताउनुुभयो ।     
     
 विसं २०६५ देखि निरन्तर क्रियाशील क्यान कास्कीले सूचना प्रविधि क्षेत्रमा कार्य गर्दै आइरहेकामा खुसी व्यक्त गर्दै प्रदेशप्रमुख भट्टले भन्नुुभयो, “सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत राख्न तपाईंहरूले पहिल्यैदेखि माग गर्नुभएको हो । नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्ने गरी विभिन्न कार्यक्रम घोषणा गरिएको छ ।”     
     
 सरकारले १० वर्षमा ३० खर्ब बराबरको आइटी सेवा निर्यात गर्ने, पाँच लाखलाई प्रत्यक्ष रोजगारी तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको प्रदेशप्रमुख भट्टले बताउनुभयो । डिजिटल माध्यमबाट सरकारी सेवा पाउने सर्वसाधारणको हक सुनिश्चित गर्ने सरकारी नीति रहेको उहाँको भनाइ छ ।     
     
 सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने सरकारी नीति मुलुकको तीव्र आर्थिक विकासमा सहयोगीसिद्ध हुने उहाँले विश्वास व्यक्त गर्नुुभयो । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।     
     
 नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको रहेको र सूचना प्रविधिसम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकाहरूमा क्यान महासङ्घले समन्वयकारी भूमिका खेलिरहेकामा पनि सरकारका तर्फबाट उहाँले धन्यवाद व्यक्त गर्नुुभयो ।