गण्डकी, १ मङ्सिर : गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्नपर्ने बताउनुभएको छ ।
पोखरामा आज आयोजित एक समारोहमा मन्त्री थापाले परम्परागत शिक्षा प्रणालीले सोचेजस्तो उपलब्धि हासिल नहुने उल्लेख गर्नुभयो । विकास र परिवर्तनको कडी शिक्षा रहेकाले शिक्षाबाटै समृद्धि प्राप्त हुने उहाँको भनाइ थियो ।
“उत्पादन र रोजगारीसँग शिक्षालाई जोड्नुपर्छ, व्यावसायिक र सीपयुक्त शिक्षा आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । मन्त्री थापाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि प्रदेश सरकारले केही नयाँ कार्यक्रम ल्याएको बताउनुभयो । अभिभावक शिक्षा, ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’, ‘फ्राइडे फर फ्युचर’ जस्ता कार्यक्रमले विद्यार्थीको आकर्षण थप बढाउने उहाँले उल्लेख गर्नुभयो ।