गलेश्वर (म्याग्दी), २ मङ्सिरः एक दशक अघिसम्म अनकन्टार लेकाली गाउँ भनेर चिनिएको म्याग्दीको टिकोट गाउँ अहिले सबैको आकर्षणको केन्द्र बनेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकको आकर्षण केन्द्रविन्दु बन्दै गएको हो ।
पर्वत र म्याग्दीका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गसँग जोडिएको टिकोट गाउँ सम्भावनायुक्त क्षेत्र हो । गुजुमुजुक्क रूपमा परम्परागत ढुङ्गे घर मिलेर बनेको टिकोट गाउँबाट देखिने मनोरम हिमशृङ्खलाले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्दछ ।
धौलागिरि रेञ्जका सबैजसो हिमशृङ्लालाई एकैठाउँबाट अवलोकन गर्न पाइने यहाँको प्रमुख आकर्षण हो । वरिपरि जङ्गलले घेरिएको छ भने अहिले वरिपरि राताम्मे फुल्ने लालिगुराँस थप आकर्षण बनेका छन् ।
यहाँ आउने पर्यटकको सुविधाका लागि टिकोटबासीले व्यवस्थित खाना खाने कक्ष र घरघरमा सञ्चालन गरिएका होमस्टे (घरबास) मा बस्ने व्यवस्था गरेका छन् । यहाँ करिब एकसय घर छन् । जिल्लाको घुमाउनेतालबाट सुरु हुने अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत बासखर्क–डाँडाकटेरी, नागी, मोहरेडाँडा पुगेका पर्यटक फूलवारी हुँदै टिकोट पुग्ने गर्छन् । टिकोट पुग्न बेनी–जोमसोम खण्डअन्तर्गत बैसरी र तिप्ल्याङबाट समेत सजिलैसँग पुग्न सकिन्छ ।
मगर समुदायको बाहुल्यता रहेको टिकोटका बासिन्दाले परम्परागत घरमा पर्यटकका लागि कोठाको व्यवस्थापन गरेर होमस्टे सञ्चालन गरेका छन् भने पर्यटकको मनोरञ्जनका लागि पुख्र्यौली नृत्य प्रस्तुत गर्दछन् । म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने विदेशी तथा आन्तरिक पर्यटकका कारण दुर्गम टिकोट पर्यटकीय गाउँमा परिणत भएको छ ।
“पदमार्गले नछोउन्जेलसम्म विदेशी पर्यटक भनेका कस्ता हुन्छन् भन्ने देख्नै नपाएका यहाँका बासिन्दा अहिले दिनहँुजसो पर्यटकलाई स्वागत गर्न पाउँदा उत्साहित छन्”, अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले भन्नुभयो । गाउँमा होमस्टे सञ्चालन हुँदा आयआर्जन बण््नुका साथै स्थानीय उत्पादनको बिक्री पनि बढेको उहाँले बताउनुभयो ।
आठ वर्षदेखि इको पदमार्गका रूपमा सञ्चालनमा ल्याइएको यस पदमार्गमा भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पदमार्गका व्यवस्थापक चित्र तिलिजा पुनले बताउनुभयो ।
सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मन, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायत देशबाट पर्यटक बढी आउने गरेका व्यवस्थापक पुनले जानकारी दिनुभयो ।
पदमार्ग हुँदै देखिने धौलागिरि, अन्नपूर्ण, मनास्लु, लाङटाङलगायत हिमालको मनोरम हिमशृङ्खला, प्राकृतिक सौन्दर्यता, मगर समुदायको रहनसहन, सामुदायिक भाव, पदमार्गमा भेटिने चौँरी, भेँडापालनलगायत व्यवसायले पर्यटकलाई थप आकर्षित गरेको पुनले बताउनुभयो ।
पर्यटकबाट भित्रिएको आम्दानीबाट गाउँको सामुदायिक विकास, विद्यालय, स्वास्थ्य संस्था सञ्चालन, पर्यटन पूर्वाधार निर्माणलगायत क्षेत्रमा खर्च गरिने उहाँको भनाइ छ । एक सातादेखि १० दिनसम्म पूरा गर्न सकिने पदमार्ग पिप्लेको घुमाउने तालबाट सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ र मोहरेडाँडा, घोरेपानी, खोप्रालेक, नारच्याङ हुँदै भुरुङ तातोपानी पुगेर टुङ्गिन्छ ।
“गाउँमा सडक आएपछि गाउँलेलाई सुविधा भएको छ भने घुम्न आउने पर्यटक पदमार्गमार्फत आवतजावत गर्दछन्”, स्थानीय ६४ वर्षीया गङ्गा पुनले भन्नुभयो, “गाउँमा यस्तो परिवर्तन आउला भन्ने लागेको थिएन । पर्यटकको आगमन बढेसँगै स्थानीयको आम्दानी पनि बढेको छ ।”