काठमाडौँ, २ मङ्सिरः पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उहाँको आज दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिनुभयो ।
वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उहाँ २०४८ देखि २०५१ सम्म सभामुख हुनुभएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि पर्नुभएको थियो । उहाँका श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ । ढुङ्गानाको भोलि अन्त्येष्टि गरिने स्वकीय शर्माले जानकारी दिनुभयो ।