म काठमाडौंको मुटु मानिने नक्साल नागपोखरीमा जन्मिएँ, हुर्किएँ । मेरो बाल्यकाल त्यही नागपोखरी वरिपरि बित्यो । अहिले पनि नागपोखरीमै बस्छु । त्यहाँ मेरो पुरानो शैलीको घर छ ।
काठमाडौंको रैथाने आदिवासी हुनाले पहिल्यै आफ्नै घर थियो । तर, २०४५ सालको भुकम्पले घर भत्किएपछि करीव ४ वर्ष कोठा लिएर भाडामा बस्नु परेको थियो । त्यती बेलै हो, मैले भाडामा बसेको अनुभव गरेको । भूकम्पले घर चर्किएपछि पुनर्निर्माण गर्नु परेकाे थियो ।
हास्यकलाकारको रूपमा कमाइ ठिकै थियो । कलाकारितामा जमिरहेकै बेलामा अमेरिका पुगेँ । आफ्ना दुई छोराहरूको भविष्य सम्झिएर अमेरिका गएको हुँ । अरूजस्तो शहरमा घरजग्गा जोड्नका लागि पैसा कमाउन भनेर अमेरिका गएको होइन । दुई छोराहरूको शिक्षादीक्षा र भविष्य निर्माण गरिदिन अमेरिका भासिएँ ।
संयोग भनौं कि के भनौं । म अमेरिका ल्यान्ड गर्न त्यस्तै तीन घण्टाजति बाँकी थियो होला । त्यही समय अमेरिकाको ट्वीनटावरमा आतंकवादी हमला भयो । निकै अत्यासलाग्दो वातावरण बनेको थियो । म अमेरिका ७ वर्षजति बसेर स्वदेश फर्किएँ । अहिले आफ्नै मुलुकमा रमाइरहेको छु ।
म काठमाडौंमा जन्मिएको हुर्किएको हुनाले मारवाडी समुदायका साथीहरूसँग घुलमिल भइरहन्थेँ । उनीहरू व्यापार व्यवसायका कुरा गरिरहन्थे । खाली, लगानी गर्ने कुरा मात्र गर्थे । आफुसँग पैसा नभए पनि बैंकबाट ऋण लिएर व्यवसाय गर्नुपर्छ भन्ने उनीहरूको सोच हुन्थ्यो । म पनि उनीहरूको व्यापार व्यवसाय गर्ने सोचबाट निकै प्रभावित हुन्थेँ ।
उनीहरू भन्ने गर्थे, घर बनाउने पैसाले पहिला व्यापार व्यवसाय गर्ने, बरु आफू भाडाको घरमा बस्नु नै बुद्धिमानी हुन्छ । त्यतिबेला साथीहरूका कुरालाई त्यति गम्भीर रूपले नलिए पनि अहिले बिचार गर्दा उनीहरूले ठिक कुरा गरेका रहेछन् भन्ने लाग्छ ।
हाम्रो समाजमा दुई थरीका मान्छेहरू हुन्छन्, एक थरी आफ्नै घर बनाएर बस्ने र अर्को थरी भाडाको घर बसेर घर बनाउने पैसाले व्यापार व्यवसाय गर्ने । मारवाडी समुदायका ती व्यवसायीहरू भाडाको घर बसेर व्यवसायमा लागानी गर्नुपर्ने सोचका थिए ।
घर बनाउँदा जीवनभरको कमाइ खर्च हुन्छ । मलाई आफ्नै घरको कति आवश्यकता छ । अरूको घर भाडामा लिएर बस्दा जीवन चल्छ कि चल्दैन । आफूसँग भएको पैसा घरमा लगाउँदा फाइदा हुन्छ कि व्यापारमा । यी कुराहरूको पहिल्यै लेखाजोेखा गरेर अगाडि बढ्दा सफलता मिल्छ ।
यदि घर आवश्यक नै हो भने आफूसँग भएको बजेटको पहिला नै लेखाजोखा गरी प्लान गरेर मात्र घर बनाउँदा राम्रो हुन्छ । काम गर्दै जाँदा पैसा पुगेन भने तपाईंको सपनाको घरले पूर्णता नपाउन सक्छ । त्यस्तो बेलामा अफुसँग भएको पैसा कतै लगानी गरेर प्रतिफल हात पारी घर बनाउने प्रकृया अगाडि बढाउँदा उत्तम हुन्छ ।
हाम्रो समाजका मान्छेमा काठमाडौँमा घर बनाउनै पर्ने भन्ने सोचाई रहेको छ । जसले काठमाडौंमा घर ठड्यायो समाजमा उही प्रतिष्ठित हुन्छ । कुनै पनि मान्छेको सफलता मापन गर्ने भनेको उसले ठड्याउने घरले निर्धारण गर्न थालेको छ । सामाजिक प्रतिष्ठाकै लागि भए पनि मान्छेले सकिनसकी बैंकबाट चर्को ब्याजदरको ऋण लिएर भए पनि घर बनाउने गरिहेका छन् ।
त्यसले गर्दा धेरै मानिसहरूले दुःख भोग्नु परिहेको हुन्छ । बैकबाट ऋण लिएर घर बनायो । घर पनि तयार भयो, बसाइ पनि सरियो । तर, बैंकको ऋण नतिरुन्जेल होटलमा बसेको जस्तो हुन्छ । मिहेनत गरेर कमाएको जति पैसा बैंकको ब्याज र साँवाको किस्ता तिर्दा तिर्दा हैरान ।
कमर्सियल क्षेत्र भएमा बैंक आफै पनि ऋण दिन आउँछन् । तर, अन्य कतै आफ्ना लागि मात्र घर बनाउनु परेमा धेरै बैंकमा धाइरहनुपर्ने अवस्था छ ।
म फेरी पनि भन्छु, घर बनाउने पैसा लगानी गर्नुस् । लगानीका लागि प्रयाप्त अवसरहरू छन् । व्यापार व्यवसायबाट कमाइ भएपछि त्यस्ता घरहरू धेरै बनाउन सकिन्छ ।
तपाईंले आफूसँग भएको पैसा शेयरमा लगानी गर्न सक्नुहुन्छ । शेयरबाट मान्छेले मालामाल कमाइरहेका पनि छन् । तर, लगानी सुझबुझपूर्ण हुनुपर्छ । लगानीका लागि अर्को क्षेत्र जग्गा हुन सक्छ । अहिले किनेको जग्गा अर्को बर्ष दोब्बर मूल्यको हुन्छ । त्यही जग्गा बिक्री गरेर घर किन्न वा बनाउन सकिन्छ ।
पछिल्लो समय नयाँ नयाँ आइडियाका स्टार्टअप व्यवसाय पनि फस्टाइरहेका छन् । पसल, होटल, रेष्टुरेन्ट, कृषि लगायत क्षेत्रमा लगानी गरेर पनि मनग्ये कमाउन सकिन्छ । अलिकति फरकपन दिन सकेमा जुनसुकै व्यवसायमा सफल हुन सकिन्छ । एउटा सानो चिया पसल राखेर करोडौंको सम्पत्ति जोड्न सफल भएका समाचार हामीले धेरै सुनेका पनि छौं ।
कुनै पनि व्यवसाय सानो ठूलो भन्ने हुँदैन । मिहिनेतसाथ काम गरेमा हरेक क्षेत्रमा सफलता मिल्छ ।
धेरैले सोँच्छन्, ‘अढाई तलाको घर बनाउँछु र एक तला भाडामा दिन्छु । आफु डेढ तलामा बस्छु । भाडाको घरमा बस्दा तिर्ने पैसा र एक तलाबाट आउने भाडा जोड्यो भने बैंकको किस्ता तिर्न पनि पुग्छ ।’
एक किसिमले हेर्दा यो ठिकै पनि हो । तर, मेरो विचारमा घर बनाइसकेपछि भाडामा दिनु उचित काम होइन । एक त आनन्दसँग आफ्नै घरमा बस्ने भनेर बनाएको घरमा भाडामा बस्नेले शान्ति भङ्ग गरिदिन्छन् । अर्कोतिर किलाकाँटी ठोकिदिने, रङ बिगारिदिने, फोहोर गरिदिने, होहल्ला गर्ने भएकोले घर भाडामा दिएर पैसा खाने काम राम्रो होइन ।
म अहिले पुरानो घरमा बस्छु । मलाई पनि रहर छ, भव्य घर बनाएर बस्ने । तर, मन भएर मात्र के गर्नु । आफ्नो बजेटले नयाँ घर बनाएर बस्न पुग्दैन । अझ कोभिड महामारीले सबैभन्दा ठूलो मारमा हामी कलाकार पनि परेका छौं ।
कोभिडले कलाकारिताको क्षेत्रमा रहेका सबैलाई समस्या पारेको छ । धेरैको रोजीरोटी नै गुमेको छ । अझै कति समय कोभिडको प्रभाव रहिरहने हो यकिन छैन ।