मंसिर ३, २०८१ सोमबार

    बाकु, ३ मङ्सिर:   राष्ट्रहरू सोमबार गतिरोधमा परेको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा फर्किँदैछन् । संसारको अर्को छेउमा भेला भएका जी–२० नेताहरूले गरिब देशहरूका लागि सम्झौतामा समर्थन जुटाउने आशा गरिएको छ ।     
     
 अजरबैजानको क्याभर्नस स्टेडियममा दुई हप्ताको सौदाबाजीको आधा समय बित्दा पनि कूटनीतिज्ञहरू कोप–२९ को सफलता वा असफलतालाई परिभाषित गर्ने सम्झौताको नजिक पुग्न सकेका छैनन् ।     
     
 बाकुमा वार्ताको जिम्मा लिने सरकारी मन्त्रीहरूसँग विकासशील विश्वलाई विश्वव्यापी तापक्रम वृद्धिको सामना गर्न आवश्यक पर्ने पैसा कसरी उपलब्ध गराउने भन्ने गतिरोध तोड्न शुक्रबारसम्मको समय छ ।     
 वार्षिक शिखर सम्मेलनका लागि ब्राजिलमा भेला हुँदा जी–२० नेताहरूमाथि रोकिएको प्रक्रियालाई समर्थन गर्न दबाब बढिरहेको छ ।     
     
 “कोप–२९ को सफल नतिजा अझै पनि सम्भव छ तर यसका लागि नेतृत्व र समझदारी, विशेष गरी जी–२० देशहरूबाट आवश्यक पर्छ”, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबार रियो डी जेनेरियोमा भन्नुभयो । गुटेरेस विश्वको सबैभन्दा ठूला अर्थतन्त्रहरूको समूह जी–२० शिखर सम्मेलनमा सहभागी हुनुहुन्छ ।     
     
 “स्वाभाविक रूपमा जी–२० मा ध्यान केन्द्रित छ । उनीहरूले विश्वव्यापी उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्छन्”, समूहलाई ‘उदाहरण बनेर नेतृत्व गर्न’ आह्वान गर्दै उहाँले भन्नुभयो ।     
     
– आयोजकमाथि दबाब –     
     
 संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको पुनर्निर्वाचनको छायाँमा सम्मेलन सुरु भयो र विश्वव्यापी जलवायु लडाइँका लागि समर्थन जुटाउने प्रयासले अर्जेन्टिनाको प्रतिनिधिमण्डल शिखर सम्मेलनबाट फिर्ता भएपछि अर्को धक्का खायो ।     
     
 कोप–२९ मा झन्डै दुई सय राष्ट्रले विकासोन्मुख देशहरूलाई ‘हिट–ट्र्यापिङ’ ग्यासको उत्सर्जन कटौती गर्न र बढ्दो जलवायु धक्काहरू विरुद्ध लचिलोपन निर्माण गर्न पर्याप्त रकम उपलब्ध गराउने नयाँ सम्झौताको वार्ता गरिरहेका छन् ।     
     
 चीन बाहेकका विकासोन्मुख देशहरूको आवश्यकता मूल्याङ्कन गर्न संयुक्त राष्ट्रसङ्घद्वारा नियुक्त स्वतन्त्र अर्थशास्त्रीहरूका अनुसार यसका लागि दशकको अन्त्यसम्ममा वार्षिक १० खर्ब डलर बाह्य सहायता आवश्यक पर्नेछ ।     
     
 जलवायु–जोखिममा रहेका राष्ट्रहरूले यसको एक हिस्सा विकसित देशहरूले तिर्नुपर्ने चाहन्छन् तर दाताहरूले उनीहरू एक्लैले त्यो रकम जुटाउन नसक्ने र निजी क्षेत्र पनि संलग्न हुनुपर्ने बताउँछन् ।     
     
 उनीहरूले जलवायु वित्त तिर्न बाध्य नभएका धनी उदीयमान अर्थतन्त्रहरू विशेषगरी चीनले पनि बोझ बाँड्नुपर्ने चाहन्छन् ।     
     
 युरोपेली सङ्घ अन्तर्राष्ट्रिय जलवायु वित्तको सबैभन्दा ठूलो योगदानकर्ता हो तर यसले राजनीतिक र बजेट दबाबको सामना गरिरहेको छ र ट्रम्पअन्तर्गत अमेरिकाले भुक्तानी गर्न अस्वीकार गरेमा एक्लै पर्न सक्छ ।     
     
 बाकुमा भएको सौदाबाजी हिमनदी जस्तै सुस्त रहेको छ तर चिनियाँ र युरोपेली अधिकारीहरूबीचको बैठकलाई अन्यथा निराशाजनक हप्तामा आशाको किरण मानिएको छ ।     
     
 पर्यवेक्षकहरूका अनुसार वर्षौंयताकै सबैभन्दा जटिल मानिएको जलवायु वार्ताको नेतृत्व गर्न महत्त्वपूर्ण नेतृत्वको आवश्यकता रहेको बेला कोप–२९ को आयोजक अजरबैजानसँग कूटनीतिक अनुभवको कमी छ ।     
     
 अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ जीवाश्म इन्धनको बचाउ गरेकोमा आलोचनामा पर्नुभयो । त्यस्तै फ्रान्सको औपनिवेशिक इतिहासबारे उहाँको आक्रामक टिप्पणीका कारण पेरिसका जलवायु दूतले बाकुको टिकट रद्द गर्नुभयो ।     
     
 वित्तीय गतिरोधका अतिरिक्त कोप–२९ मा देशहरूले गत वर्षको ऐतिहासिक विश्वलाई जीवाश्म इन्धनबाट टाढा लैजाने प्रतिबद्धतालाई पुनः दोहोर्याउनुपर्ने छ कि छैन भन्ने विवाद पनि उठिरहेको छ ।     
     
 पहिलो दिन कोप–२९ को औपचारिक एजेन्डामा यो विषय समावेश गर्ने कि नगर्ने विवादले शिखर सम्मेलनको सुरुआत नै केही घण्टा ढिला भएको थियो ।     
     
 “हामी अत्यन्त निराश छौँ, उत्सर्जन कटौतीका प्रयासहरू कोप–२९ मा खाली पृष्ठभन्दा बढी केही थिएनन्”, युरोपेली सङ्घको तर्फबाट बोल्दै भेरोनिका स्कोलाज्स्टिका बागीले शनिबार भन्नुभयो ।