मंसिर ३, २०८१ सोमबार

कञ्चनपुर, ३ मङ्सिर : कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटाका ३३ वर्षीय निर्मला लुहारको परिवार कठयाङुग्रीदो जाडोमा एकसरो लुगाको सहारामा दुई दिनदेखि खुला आकासमुनि बस्न बाध्य छ । घरका सबै सामग्री आगलागीमा जलेर नष्ट भएपछि लुहार परिवारमाथि चरम समस्या परेको हो । 

“शनिबार घरभित्र बालबालिका पढ्दै थिए,” निर्मलाले भन्नुभयो, “म घर नजिकै रहेको सानो कटेरोमा खान बनाउँदै थिए, एक्कासी कच्चि घरको माथिल्लो तलामा आगो सल्किएको देखियो । आगोको मुस्लो देखिएपछि हतपत बालबालिकालाई बाहिर निकाले, एकै छिन पुरै घरभित्र आगो सल्कियो, सामान केही निकाल्न पाइएन ।” 

    स्थानीय बासिन्दाले आगलागी भएको थाहा पाएपछि आगो निभाउन सहयोग गरेसँगै नजिकै रहेका अन्य घर भने जोगिएका छन् । विद्युत् चुहिएर सो आगलागी भएको निर्मलाको भनाइ छ । उहाँका श्रीमान्सहित घरमालिक हरिलाल लुहार परिवारसहित रोजगारीका लागि भारत गएका छन् । 

    डडेल्धुराको रूपालबाट थातथलोको खोजीमा भौतारिदै निर्मलाको परिवार केही वर्षअघि हरिलालको बाँझो (खाली) घरमा बस्दै आउनुभएको थियो । उहाँ तीन साना छोरासँग भेटघाट गाउँमा बस्दै आउनुभएको छ । घरभित्र राखेको सबै सामान जलेपछि चिसोमा खुलाआकास आगोबालेर बिताएको उहाँले बताउनुभयो । छिमेकीसँग खाद्यान्नको जोहो मिलाई छाक टारेको उहाँले बताउनुभयो । 

    “गाउँ नजिकैको विद्यालयमा छोरा पढ्दै आएका थिए,” निर्मलाले भन्नुभयो, “कापी किताब, पोशाक सबै जलेपछि विद्यालय जान पाएका छैनन्, चिसोमा बस्नु पर्दा बिरामी पर्ने जोखिम छ ।”     दातृ निकायलाई खाद्यान्न र ओढ्ने–बिछ्याउने कपडाको जोहो मिलाई दिन उहाँले आग्रह गर्नुभयो । आगलागी भएपछि प्रहरी बाहेक कोही पनि हालचाल सोध्नसमेत नआएको उहाँको गुनासो छ ।