गोरखा, ६ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
माओवादी केन्द्र गोरखाले आज जिल्ला पार्टी कार्यालय पाटेचौरमा आयोजना गरेको ‘पार्टीका अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष दाहालले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षण र सम्बद्र्धनमा जुट्न सबैसँग अनुरोध गर्नुभयो ।
पछिल्लो समय गणतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सचेत रहन समग्र पार्टी पङ्तिको ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको समावेशी शासन व्यवस्थालाई कमजोर पार्ने÷उल्ट्याउने कोशिस भइरहेको छ, त्यसतर्फ सचेत र सजग हुन सबैसँग अनुरोध गर्दछु ।’’
पहिलो संविधानसभाको निर्वाचनमार्फत जनताले दिएको विश्वास र भरोसाको रक्षा गर्न माओवादीले नसकेको स्वीकार गर्दै अध्यक्ष दाहालले राजनीतिक इतिहासको सुक्ष्म ढङगबाट समीक्षा गरी आमजनताको विश्वास जित्नेगरी काम गर्न पार्टी पङ्तिको ध्यानाकर्षण गर्नुभयो ।
सरकारबाट बाहिरिएपछि माओवादीको पक्षमा जनलहर देखिएको उल्लेख गर्दै उहाँले मुलुकका सम्पूर्ण शोषित पीडित वर्ग समुदायसहित माओवादी विचारमा विश्वास गर्ने सबैलाई एकताबद्ध गरी पार्टीलाई २०६४ सालकै अवस्थामा पु¥याउने अठोटका साथ अघि बढेको पार्टी नेतृत्वलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता अझ सक्रिय हुनुपर्ने समय आएको बताउनुभयो ।