मंसिर ६, २०८१ बिहिबार

काठमाडौँ, ६ मङ्सिरः उपसभामुख इन्दिरा रानाले नेपालमा वायु प्रदूषण बढिरहेको भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।     ‘आर्टबिट’द्वारा ‘रङ्गीन सपना’ शीर्षकमा आजदेखि काठमाडौँस्थित नेपाल कलापरिषद्मा आयोजित नवकलाकार तथा बालबालिकाको कला प्रदर्शनी उद्घाटन गर्दै उपसभामुख रानाले बालबालिकाहरुले प्रस्तुत गरेको कला सिर्जनाले पनि प्रदूषण रोक्न आह्वान गरिरहेको बताउनुभयो ।

    यहाँ संस्कृतिलाई झल्काउने पोशाक, प्रकृति र वातावरणलाई कलामा प्रस्तुत गरिएको देख्दा खुसी लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सेतो हिमाल र निलो आकास देख्नसक्ने अवस्था नभइरहेका बेला कलामा निलो आकाश, सेतो हिमाल देखाइएको छ । देशका पहाडहरु काला देख्न थालिएको छ, यो कलामा देखिएको सिर्जनशीलता नेपाललाई झल्काउने खालको छ, उहाँहरुले यस्तै प्रस्तुत गर्नुभएको छ ।”

    नेपालमा प्रदूषण बढ्दो रहेको उल्लेख गर्दै उहाँले हामीमा अनुशासनको कमी भएको पनि बताउनुभयो । उपसभामुख रानाले नयाँ पुस्तालाई प्रदूषणमुक्त वातावरण बनाइदिनुपर्ने र त्यसका लागि हामी सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 

    समारोहमा बागमती प्रदेशका पूर्वसंस्कृतिमन्त्री शैलेन्द्र बज्राचार्यले कला सिर्जनाले मुलुक संस्कृति संरक्षणको महत्वपूर्णमाध्यम भएको उल्लेख गर्दै यसको प्रवद्र्धन जरुरी रहेको औँल्याउनुभयो । उहाँले बालबालिकाहरुको कलाकृति आकर्षक र प्रकृतिप्रेम रहेको भन्दै प्रशंसा पनि गर्नुभयो ।

    छ वर्षदेखि १४ वर्षका बालबालिका र कलाकृति अध्ययन गर्ने नवोदित युवा कलाकारहरूको जीवन्त रङ्गीन कल्पना समावेश गरी आयोजना गरिएको कला प्रदर्शनी उद्घाटनका क्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलिलै उमेरदेखि बालबालिकालाई असल अभ्यास दिनसके भविष्य सुन्दर हुने र देश प्रेमप्रतिको भावना जागृत हुने बताउनुभयो । 

    उहाँले बालबालिकाको कलाकृतिले सुन्दर नेपाल र प्रकृतिको बयान गरेको स्मरण गर्दै उनीहरुका लागि अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

    यहाँ बालबालिका, नवोदित युवा कलाकार र दृष्टिविहीन एंव एचआइभी सङ्क्रमित भएकाहरुको कला समावेश गरिएको छ । उक्त प्रदर्शनीका कला व्यवस्थापक दिवेश प्रधानले भन्नुभयो, “यस प्रदर्शनीमार्फत, हामीले बालबालिकाका आफ्ना सपना र कल्पनालाई रङका रचनामार्फत आफ्नो भित्री संसारलाई अभिव्यक्त गर्ने प्रयास गरिएको छौँ ।”

    युवा कलाकारहरुसँग सहकार्य गरी न्यून आर्थिकस्थिति भएका सरकारी विद्यालयका बालबालिकाका साथै घर र समुदायका बालबालिकाहरूलाई कला सिक्न उत्प्रेरित गर्ने प्रदर्शनीको लक्ष्य रहेको आयोजकले जनाएको छ । 

    यो प्रदर्शनी बालबालिकालाई कलामार्फत आफ्नो सृजनात्मकता अभिव्यक्त गर्ने मञ्च भएको र परिवारमा र समुदायमा बालबालिकाको कलात्मक अभिव्यक्ति गर्न तथा कलात्मक सीप र आत्मविश्वास प्रवद्र्धन हुने विश्वस गरिएको छ । 

    आयोजक प्रतिनिधि जुजुकाजी महर्जनले रङ्गीन सपना शीर्षकमार्फत बालबालिकाहरूलाई उनीहरूका सपनाहरू अन्वेषण गर्न र चित्रण गर्न आमन्त्रित गर्ने बताउनुभयो । विशेषगरी आकर्षक र रमाइलो तरिकामा साहसिक र अतियथार्थवादका गुणहरू भएको विचित्र भाव, रङ्गीन परिदृश्यहरू, सपना वा तिनीहरूको कल्पनाको अमूर्त प्रतिनिधित्व, बालबालिकाका विचार, भावना कलाका रूपमा प्रस्तुत गरिएको छ । 

    प्रदर्शनीमा मीन माध्यामिक विद्यालयका २० जना विद्यार्थीहरु, तनहुँ जिल्लामा कला कार्यशालामा सहभागी २३ जना विद्यार्थीहरु, यङ पिकासोका बालबालिकाहरू र १३ जना युवा कलाकारहरू र दृष्टिविहीन एवं एचआइभी सङ्क्रमित भएका बालबालिकाका कला समावेश गरिएको छ । 

    प्रदर्शनीमा शनिबारीय कला कार्यशाला अभियान, लायन्स क्लब अफ काठमाडौँ, गार्च फल्क स्वेले ब्ल्याङ्कनेश र यङ पिकासोलगायत संस्थाहरूले सहयोग गरेका छन् ।