मंसिर ११, २०८१ मंगलबार

मोरङ, ११ मङ्सिर : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध रहेको बताउनुभएको छ ।
    
बूढीगङ्गा गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता एवं तेस्रो बृहत् प्रतिभा पहिचान वक्तृत्वकला–२०८१ को आज उद्घाटन गर्दै उहाँले विद्यालयस्तरमा खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रष्फुटन हुनुका साथ अध्ययन र अनुशासन कायम गर्नमा सहयोग पुग्ने  विचार व्यक्त गर्नुभयो ।
    
सरकारले विद्यालयस्तरमा खेलकुदको आवश्यकता चाहिन्छ भनेर ‘राष्ट्रपति रनिङ कप’ लाई धेरै महत्त्व दिएको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा बजेटसहित प्रशिक्षक पठाउने जानकारी दिनुभयो ।
    
मन्त्री चौधरीले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सरकारले राष्ट्रिय गौरवको बहुवर्षीय योजनाभित्र राखेको जानकारी दिनुभयो । त्यसका लागि रू तीन अर्बभन्दा बढीको बजेट विनियोजन गरी चाँडै निर्माण प्रक्रिया सुरू गर्ने उहाँले बताउनुभयो ।
    
पूर्वमन्त्री एवं सांसद डिकबहादुर लिम्बूले स्थानीय तहमा हुने खेलकुद प्रतियोगिताले उत्कुष्ट खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै खेल क्षेत्रको विकास र योग्य नागरिक निर्माण हुने धारणा राख्नुभयो ।
    
प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले खेलकुदको माध्यमबाट खेलाडीले आयआर्जनसहित मुलुकको नाम विश्वमा चिनाउन सक्ने बताउनुभयो । बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, उपप्रमुख अमृता गच्छदार, उद्योगपति नवीन रिजाल, प्राचार्यद्वय रीता न्यौपाने र धनेशप्रसाद निरौलालगायतले खेलकुदको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको विचार राख्नुभयो ।
    
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पालिका ३५ सामुदायिक र निजी विद्यालयका आठ सय छात्रछात्राहरूको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कराँते, एथलेटिक्स, कबड्डी र प्रतिभा पहिचान वक्ततृत्वकला प्रतियोगिता हुनेछ ।