भजनी, ११ मङ्सिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रलाई मुलुकको आर्थिकसँग जोड्न सके राष्ट्रको समृद्धिमा ठूलो टेवा पुग्ने बताउनुभएको छ ।
कैलालीको जोशीपुर गाउँपालिका–४ मा रहेको वाणी सिँचाइ जल उपभोक्ता संस्थाको प्रथम वार्षिक साधारणसभामा उहाँले कृषिलाई व्यावसायिक बनाउँदै आर्थिक पाटोसँग जोड्नुपर्ने बताउनुभयो ।
“कृषकलाई राज्यले प्रोत्साहन तथा हौसला प्रदान गर्नुपर्छ”, मुख्यमन्त्री शाहले भन्नुभयो, “यहाँका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सक्यो भने त्यसबाट राष्ट्रको समृद्धिमा ठूलो टेवा पुग्नेछ ।” राज्यले किसानलाई ब्याज मलखाद, बीउबिजन, बजारीकरणमा उचित उचित अनुदानसहित सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
खोतियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ प्रदेश सरकारले बजेट खर्च गर्दै आएको बताउँदै मुख्यमन्त्री शाहले खेतीको समयमा सहजरूपमा मल उपलब्ध हुने अवस्था सिर्जजना गरिने बताउनुभयो । “अहिले मलखादको हकमा केही सहजता भएको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकार पनि कृषि क्षेत्रको विकास र किसानको सहजीकरणमा प्रयत्नशील रहेको छ ।”
प्रदेश सरकारका पूर्वकृषिमन्त्री कैलाश चौधरीले खेतीको समयमा किसानले बर्सेनि मलको अभाव झेल्नुपरेको बताउँदै त्यसलाई समाधानका लागि सरकार जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले किसानको खेतसम्म सिँचाइ पहुँच पुर्याउन तीनै तहको सरकारको समन्वय आवश्यक रहेको भन्दै दीर्घकालीन सोचका साथ सिँचाइको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।