काठमाडौँ, ११ मङ्सिर : अनौपचारिक क्षेत्र र हेरचाह कार्यमा संलग्नलाई पनि सामाजिक सुरक्षाको दायरामा समावेश गर्नुपर्नेमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘प्रगतिशील आन्तरिक राजस्व परिचालनद्वारा नेपालको हेरचाह अर्थतन्त्रको वित्तीय सुनिश्चितता : राष्ट्रिय परामर्श’ बैठकमा पूर्वमन्त्री एवं राष्ट्रियसभाका पूर्वसदस्य विमला राई पौडेलले हेरचाह क्षेत्रमा काम गर्ने महिलाका अधिकारका विषयमा अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
एसियन पिपुल्य मुभमेन्ट अन डेट एण्ड डेभलभमेन्ट, नेपाल ग्रामीण पुनःनिर्माण संस्था, एलडिसी वाच र दक्षिण एसिया गरिबी उन्मूलन मञ्चको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा मुख्य वक्ताका रुपमा बोल्दै पूर्वमन्त्री राईले अध्ययनले नेपालमा पुरुषको तुलनामा महिलाले छ गुणा बढी हेरचाहसम्बन्धी कार्य गर्ने गरेको देखाएको सन्दर्भ जोड्दै घरधन्दा गर्ने काम महिलाको जिम्मेवारीमै रहेकोजस्तो देखिएकाले महिला पुरुषको समान जिम्मेवारी हो भनेर अभियान चलाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
सोह्रदिने महिला हिंसाविरुद्धको अभियान चलिरहेको यो समयमा महिलाहरु घरभित्रै हिंसामा पर्ने गरेको तथ्य डरलाग्दो रहेकोतर्फ पनि ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अनौपचारिक क्षेत्रमा काम गर्ने, वा घरभित्रै काम गर्नेलाई पनि अब सामाजिक सुरक्षाको दायरामा लैजानुपर्छ, त्यसका लागि अब सामाजिक अभियान चलाउनुपर्छ र त्यसको नेतृत्व पुरुषले गर्नुपर्छ ।” उहाँले तिनै तहको सरकारले नीति नै बनाएर अघि बढ्नुपर्ने र त्यसका लागि दबाब नै आवश्यक भएको औँल्याउनुभयो ।
कार्यक्रममा एक अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै दक्षिण एसिया गरिबी उन्मूलन मञ्चका प्रतिनिधि सुधीर श्रेष्ठले हेरचाहसम्बन्धी काम गर्नेहरुका विषय आर्थिकरुपमा गणना नै नहुनु विडम्बना भएको बताउनुभयो । उनीहरुमा रोजगारी सम्झौता नहुँदा पनि सामाजिक सुरक्षामा जोडिन नसकिएको उल्लेख गर्दै उहाँले अहिले सामाजिक सुरक्षा भनेको भत्ता दिनेमात्रै हो भन्ने भाष्य ठीक नभएको बताउनुभयो ।
सन् २०१८ मा गरिएको श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा काम गर्न सक्ने उमेर समूहका महिला पुरुषका तुलनामा २० लाख बढी छन् । तर महिलाका हकमा श्रमशक्ति सहभागिता दर २६ दशमलव ३ प्रतिशत र पुरुषको सहभागिता दर ५३ दशमलव ८ प्रतिशत रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
छलफलमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले अनौपचारिक क्षेत्र र हेरचाह क्षेत्रमा महिलाको सहभागिता बढिरहेको उल्लेख गर्दै उनीहरुले पनि अर्थतन्त्रमा योगदान गरेको कुरालाई भूल्न नहुनेमा जोड दिनुभयो । त्यसका लागि नीतिगत रुपमै सुधार आवश्यक भएको उहाँले बताउनुभयो ।