मंसिर ११, २०८१ मंगलबार

घोडाघोडी (कैलाली), ११ मङ्सिर : कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित सिद्धबाबा सामुदायिक वन क्षेत्र अतिक्रमण गर्न खोज्नेलाई नियन्त्रणमा लिइएको छ । धुर्जन्नामा रहेको खुटीया नदी किनारको खुला वन क्षेत्रमा गएराति वन अतिक्रमण गरी दुई सय बढी मानिसहरू पाल टाँगेर बसेका थिए । 

सामुदायिक वनको २० हेक्टर बढी खाली रहेको जमिनमा उनीहरू बस्न आएको डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत लोकराज दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार  उनीहरू  पाल टाँगेर घर छाप्रो बनाउने योजनामा रहेका थिए । 

अतिक्रमण गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टको नेतृत्वमा गएराति गस्ती टोली गएको थियो । डिभिजन वन कार्यालय कैलाली र पहलमानपुरको संयुक्त टोली र सशस्त्र प्रहरीलगायतले अतिक्रमण हटाएको फूलबारी सव डिभिजन वन कार्यालयका प्रमुख जीवक्ष यादवले जानकारी दिनुभयो । सो क्रममा आठ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मानबहादुर कामी, प्रेम सार्की, चक्र सार्की, टेकबहादुर भुल, मनिराम पाध्याय, पवन रसाइली, मानबहादुर कामी, राजेश कामी रहेको यादवले जानकारी दिनुभयो । 

उनीहरू डोटी, कैलाली, बाजुरा, अछामलगायतका जिल्लाबाट आएका हुन् । पक्राउ परेकामाथि थप अनुसन्धान गरी वन ऐन नियमावलीअनुसार कारबाही गरिने यादवले जानकारी दिनुभयो ।