मंसिर ११, २०८१ मंगलबार

बागमती, ११ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले कृषि र पर्यटन क्षेत्रको विकासलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । 

मकवानपुरको थाहा नगरपालिकास्थित गोरखनाथ कल्याण केन्द्रले आज गोरख संवत् २८१८ को अवसर पारेर आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लामाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट प्रदेशको विकास गर्न सकिने भएकाले प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । 

मकवानपुरको थाहा नगरपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उहाँले यहाँकाृे धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो । धार्मिक तथा सांस्कृति महत्व बोकेको गोरखनाथ मन्दिरसम्म पुग्ने सडकको स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन तयार गर्न स्थानीय सरकारसँग आग्रह गर्दै उहाँले सो आयोजनामा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

गोरखनाथ कल्याण केन्द्रका अध्यक्ष फणिप्रसाद रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रका संरक्षक अनन्तप्रसाद खनाल, नेपाली कांग्रेसका नगरसभापति प्रमोदकृष्ण जोशीलगायतले बोल्नुभयो । सो अवसरमा मुख्यमन्त्री लामाले थाहा नगरका युवा समाजसेवी तथा निर्माण व्यवसायी राजन ढकाल र शम्भुसिंह कार्कीलाई सम्मान गर्नुभयो ।