मंसिर १२, २०८१ बुधबार

    बेरुत, १२ मङ्सिर: लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले बुधबार लागू भएको युद्धविरामको सम्मान गर्दै र इजरायललाई पछि हट्न आग्रह गर्दै देशको दक्षिणी क्षेत्रमा सेनालाई सुदृढ गराउने बताउनुभएको छ ।     
     
 इजरायल र लेबनानको हिजबुल्लाह बीचको १३ महिनाको द्वन्द्व रोक्ने सम्झौता मुख्य रूपमा संयुक्त राष्ट्रसङ्घको १७०१ नं. प्रस्तावको कार्यान्वयनमा आधारित छ । यसले तिनीहरूको पछिल्लो युद्धलाई सन् २००६ मा अन्त्य गरेको थियो ।     
     
 सम्झौताले लेबनानी सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सेनाहरू मात्र दक्षिणी क्षेत्रमा हुनुपर्ने र हिजबुल्लाहको नियन्त्रण रहेको यस क्षेत्रबाट इजरायली सेनाले पछि हट्नुपर्ने व्यवस्था गरेको छ ।     
     
 मिकातीले युद्धविरामपछिको पहिलो बैठकमा ‘दक्षिणी लितानी क्षेत्रमा सेना र सुरक्षा बलको परिनियोजन सुदृढ गर्ने’ निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिनुभयो ।     
     
 “इजरायली शत्रुले युद्धविराम सम्झौताको पालना गरोस् र लेबनानी भूमिबाट पछि हट्नुपर्छ भन्ने म माग गर्दछु”, उहाँले भन्नुभयो, “मलाई आशा छ कि यो लेबनानका लागि नयाँ पृष्ठ हुनेछ, मलाई आशा छ कि आगामी दिनहरूले राष्ट्रपति चुनावको नेतृत्व गर्नेछ ।”     
     
 हिजबुल्लाह र यसका राजनीतिक विरोधीहरू बीचको झगडाले लेबनानलाई दुई वर्षभन्दा बढी समयदेखि राष्ट्रपतिविहीन बनाइराखेको छ।     
     
 यसअघि लेबनानका शक्तिशाली संसद् अध्यक्ष नबिह बेरीले युद्धविरामको समयमा विस्थापित व्यक्तिहरूलाई घर फर्कन आह्वान गर्दै देशलाई एकता दिन सक्ने राष्ट्रपतिको छिटो निर्वाचनको लागि पनि आह्वान गर्नुभयो ।     
     
 “म तपाईँहरूलाई आफ्नो घर फर्कन आमन्त्रित गर्दछु... आफ्नो भूमिमा फर्कनुहोस्”, लेबनान र इजरायली सेनाहरूको विपरीत चेतावनीको बाबजुद बेरीले भन्नुभयो ।     
     
 बेरी अमाल आन्दोलनका प्रमुख हुनुहुन्छ र उहाँले आफ्नो सहयोगी हिजबुल्लाहका तर्फबाट युद्धविराम वार्तामा नेतृत्व गरेका गर्नुभएको छ ।     
     
 गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार सीमित गोलीबारीको लगभग एक वर्षपछि, इजरायलले सेप्टेम्बर २३ मा लेबनानमा आफ्नो हवाई बमबारी बढाएको थियो र मुख्यतया हिजबुल्लाहको गढहरूमा आक्रमण गरेको थियो ।     
     
 त्यसपछि उसले दक्षिणी सीमापार गरेर स्थल सेना पठायो ।