मंसिर १५, २०८१ शनिबार

लुम्बिनी, १५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय संयन्त्रको बैठक आज बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रदेश सरकारले गरेका कामको समीक्षा गरिएको छ ।

    एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामका बारेमा  मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराउनुभएको थियो । एमाले–कांग्रेस संयुक्त सरकाले अघि सारेका कामहरु सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँचवर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको उहाँले जानकारी गराउनुभएको थियो ।

    यस्तै, बैठकमा संसदीय क्षेत्रमा भएका कामका बारेमा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले प्रकाश पार्नुभएको थियो । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिनुभएको थियो ।

    प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरु सङ्कलन गर्ने निर्णय गरेको छ । यस्तै, मङ्सिर २० गते एमाले–कांग्रेस  संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।

    एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज अर्याल, मुख्यमन्त्री आचार्य र प्रदेश अध्यक्ष कँडेल रहनुभएको छ । यस्तै, कांग्रेसबाट संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र  विष्णु खनाल रहनुभएको छ ।