मंसिर १५, २०८१ शनिबार

कुनौली (सप्तरी), १५ मङ्सिरः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले घरेलु उत्पादनलाई बजारीकरणको व्यवस्था गरिने बताउनुभएको छ ।

    सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–१ को ॐसृजन कृषि सहकारी संस्थाको वार्षिक साधारणसभामा आज उहाँले महिलालाई व्यावसायिक रूपमा घरेलु उत्पादनमा लाग्न आग्रह गर्नुभयो । मुख्यमन्त्री सिंहले स्थानीय खानेकुरा तिलोरी, चरोरी, पापडलगायत समानहरू तयार पार्न सुझाव दिँदै त्यसलाई बजारीकरणका लागि सरकारले व्यवस्था मिलाउने आश्वासन दिनुभयो । “यहाँ प्रयोग भएको फूलको माला पनि बाहिरबाट किनेर ल्याइएको होला । अब आफैँ किन उत्पादन नगर्ने ? तपाईंहरू यहाँ पाँच, दश बिघामा फूलको खेती गर्न चाहनुहुन्छ भने सरकारले आवश्यक सहयोग गर्छ”, उहाँले भन्नुभयो । 

    युवाहरू विदेशमा गएर यस्तै काम गर्ने तर देशमै नगर्नाले देशपछाडि परेको मुख्यमन्त्री सिंहको भनाइ थियो । “पढेर कोही खेती गर्छ भने यहाँ समाजले पनि फलानोको छोरा पढेर पनि केही गर्न सकेन भनेर कुरा काट्छ । यस्तो प्रवृत्ति बन्द हुनुपर्छ, कामलाई प्रोत्साहन गर्नुपर्छ अनि मात्र देश र मधेश समृद्ध हुन्छ”, उहाँले थप हौसला भर्नुभयो ।