मंसिर १५, २०८१ शनिबार

घोडाघोडी (कैलाली), १५ मङ्सिरः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतले डुडेझारी औद्योगिक क्षेत्रको अवलोकन गर्नुभएको छ । 

आज उहाँहरूले त्यस क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । सरकारले डुडेझारीलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने भनेर विगत लामो समयदेखि नीति तथा कार्यक्रममा राख्ने गरे पनि बजेटको अभावका कारण काम अघि बढ्न सकेको छैन । प्रदेश सरकारले उक्त क्षेत्रको विकासका लागि रु दुई करोड २० लाख बजेट विनियोजन गरेको छ । 

    सङ्घीय सरकारले यससम्बन्धी कानुनी बाधा नफुकाउँदा विनियोजन भएको बजेट पनि कार्यान्वयन हुनसकेको छैन । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र निर्माण कार्यअगाडि बढाउन मुख्यमन्त्री शाहले वनमन्त्रीलाई स्थलगत अनुगमन गरी त्यसबारे ध्यानाकर्षण गराउनुभएको हो । 

    मुख्यमन्त्री शाहले तत्काल यस विषयमा काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “डुडेझारी औद्योगिक ग्रामका लागि उपयुक्त स्थान हो । यो हाइवेसँगै जासडएको छ, उद्योगका लागि आवश्यक पानीको स्रोत छेउमै छ, बिजुली पनि सहजै उपलब्ध हुन्छ । साथै, खक्रौला नाकासमेत नजिक भएकाले यो क्षेत्र कर्णाली, लुम्बिनी र सुदूरपश्चिमको केन्द्रविन्दु बन्नसक्ने अवस्था छ”, उहाँले भन्नुभयो । 

    वनमन्त्री ठकुरीले डुडेझारीलाई औद्योगिक ग्रामका रुपमा विकास गर्न प्रतिबद्धता जनाउनुभएको छ । दुई सय ५१ उद्योग स्थापना हुनेगरी डुडेझारीमा ६ सय बिघा क्षेत्रफलमा विशेष आर्थिक क्षेत्र बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसके पनि पर्याप्त बजेट विनियोजन नहुँदा काम अघि बढ्न सकेको छैन ।