चितवन, १६ मङ्सिरः कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि प्रदर्शनी तथा किसान मेला हुने भएको छ । विसं २०७६ मा पहिलो पटक मेला आयोजना गरेको विश्वविद्यालयले पाँच वर्षपछि दोस्रो संस्करण सुरु गर्न लागेको हो ।
मेला आयोजक समारोह समतिका संयोजक एवं विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेलका अनुसार यही मङ्सिर २९ गतेदेखि आगामी पुस ३ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो । विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मेलाका बारेमा जानकारी गराएको हो । किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा १३५ कक्ष रहने छन् ।
कट्टेलका अनुसार विश्वविद्यालयको कृषि सङ्कायको परिसरमा हुने मेलामा कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका विषयमा समेत छलफल हुनेछ । यहाँ किसानलाई आवश्यक पर्ने नयाँ प्रविधिको प्रदर्शनी किसानले अवलम्बन गरेका प्रविधि, सीप तथा ज्ञानको विषयमासमेत छलफल हुने उहाँले बताउनुभयो ।
कार्यक्रम अवधिभर कृषि क्षेत्रको नीतिगत बहस, कृषि रुपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालासँग छलफल, दिगो पशुपालन भेटेरीनरी सेवा तथा मानव–वन्यजन्तु द्वन्द्वव्यवस्थापन लगायतका विषयमा समूहगत छलफल हुने कट्टेलले जानकारी दिनुभयो ।
मेलाबाट १० हजारभन्दा बढी किसानले लाभ लिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मेला किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कोशेढुङ्गा बन्ने उहाँको विश्वास छ । विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा अर्जुनकुमार श्रेष्ठले मेला अवधिमा विश्वविद्यालयबाट अध्ययन गरी गएका र रामपुर क्याम्पस हुँदा उत्तीर्ण उद्यमशीलतामा लागेका विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।
उहाँले भन्नुभयो, “सबै विद्यार्थी हाम्रा लागि समान हुन्, सबैलाई सम्मान गर्ने छौँ ।” उद्यममा लागेकाबीच मूल्याङ्कन गरी तीन जनालाई पुरस्कृतसमेत गर्ने कार्यक्रम रहेको छ । विगतमा सुरुवात गरिएको मेला कोरोना लगायतका कारणले स्थगित भएको जनाउँदै उहाँले यस कार्यक्रमलाई अब हरेक दुई÷दुई वर्षमा गरिने बताउनुभयो ।
भित्तो काटेर बनाइएको तुइनखोला पुल सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाको पुल सञ्चालनमा आएको छ । दुई वर्ष हिउँदमा सडक रोकेर भित्तो काटेर पहाड भत्काएसँगै पुल निर्माण गरिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार शनिबारबाट यो पु्ल सञ्चालनमा आएको हो । योसँगै नाम्सी खोला पुल पनि सञ्चालनमा आएको दरैले जानकारी दिनुभयो । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएपछि विसं २०७९ र २०८० का हिउँदका तीन÷तीन महिना दिउँसोमा सडक रोकेर पुल बनाइएको हो ।
तत्कालीन समयमा आयोजनामा सूचना अधिकारी रहनुभएका इन्जिनियर कृष्ण आचार्यका अनुसार पुल निर्माणका लागि ६५ मिटर अग्लो पहाड दुई वर्ष लगाएर काटिएको हो । सो क्षेत्र सडक खण्डकै सबैभन्दा साँघुरो ठाउँ हो । हाल त्यहाँ पहाड भत्काएर सात दशमलव पाँच मिटर फराकिलो पुल बनाइएको छ । यो ६० मिटर लामो छ । आचार्यले भन्नुभयो, “एकापट्टी अग्लो पहाड र अर्कोपट्टी खोला छ, पहाड कडा चट्टान र काम गर्न निकै कठिन भयो ।” पहाड फोर्न कठिन भएपछि विस्फोट गराउने तयारीसमेत गरेर अन्तिम चरणमा रोकिएको थियो ।
विस्फोट गर्दा थप क्षति हुनसक्ने भएकाले अन्तिम प्रयास गर्ने सहमति अनुरुप गरिएको काम सफल भएको इन्जिनियर आचार्य बताउनुहुन्छ । सो सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । सडक निर्माणकै क्रममा चार वटा पुल फराकिलो बनाइएको थियो । बाँकी १५ पुलमध्ये अब एउटा पुलमात्र निर्माण गर्न बाँकी छ । इन्जिनियर दरैका अनुसार खहरे खोलाको पुल बनाउन बाँकी छ ।
यो पुल मुआब्जाका कारण ढिलाइ भएको हो । पहुँच सडकको केही काम बाँकी रहेको भन्दै अबको दुई महिनामा यो पुल पनि सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।
विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत सोहीअनुसार फराकिलो बनाइएको छ ।
पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।