नयाँदिल्ली, १६ मङ्सिर : भारतीय क्रिकेट प्रमुख जय शाहले आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अध्यक्षका रूपमा आफ्नो कार्यकाल सुरु गर्दै खेललाई ‘नयाँ उचाइमा’ लैजान चाहेको बताउनुभएको छ ।
भारतका शक्तिशाली गृहमन्त्री अमित शाहका छोरा अगस्टमा खेलकुदको विश्व निकायद्वारा निर्विरोध निर्वाचित हुनुभएको थियो र ग्रेग बार्कलेको उत्तराधिकारी बन्नुभएको थियो । बार्कलेले तेस्रो कार्यकाल नचाहेको निर्णय गर्नुभएको थियो ।
छत्तिस वर्षको उमेरमा उहाँ यो पद सम्हाल्ने सबैभन्दा कान्छो व्यक्ति हुनुहुन्छ ।
“क्रिकेटमा विश्वव्यापी रूपमा अपार सम्भावनाहरू छन् र म यी अवसरहरू लिन र खेललाई नयाँ उचाइमा लैजान आइसिसी टोली र सदस्य देशहरूसँग नजिकबाट काम गर्न इच्छुक छु”, शाहले एक विज्ञप्तिमा भन्नुभयो ।
सन् २०२८ को ओलम्पिकका लागि तयारी भइरहेको र ‘क्रिकेटलाई विश्वव्यापी प्रशंसकहरूका लागि थप समावेशी र आकर्षक बनाउन’ काम गरिरहेको खेलका लागि यो ‘रोमाञ्चक’ समय भएको उहाँले बताउनुभयो ।
“हामी बहु ढाँचाको सहअस्तित्व र महिला खेलको विकासलाई गति दिने आवश्यकताका साथ एक महत्वपूर्ण मोडमा छौँ”, उहाँले भन्नुभयो ।
विश्वको सबैभन्दा धनी क्रिकेट बोर्डको प्रमुखदेखि आइसिसीको नेतृत्व गर्न शाहको जबर्दस्त उदयले खेलको विश्वव्यापी प्रशासनमा भारतको प्रभुत्वलाई चित्रण गर्दछ ।
खेलकुद र राजनीति सँगै चल्ने देशमा शाह प्रधानमन्त्री नरेन्द्र मोदीका दाहिने हात अमित शाहका छोरा भनेर चिनिनुहुन्छ ।
आइसिसी क्रिकेटका लागि विश्वव्यापी प्रशासकीय निकाय हो । यसमा १०० भन्दा बढी सदस्य छन् र विश्वकप जस्ता विश्वव्यापी कार्यक्रमहरू आयोजना गर्न जिम्मेवार छ ।
भारतले आयोजक राष्ट्र पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेपछि अर्को वर्षको च्याम्पियन्स ट्रफीको भाग्य अधरमै परेपछि आफ्नो नयाँ काममा शाहको सुरुआत एउटा महत्त्वपूर्ण समयमा आएको छ । आइसिसीका स्रोतहरूले यस हप्ताको सुरुमा एएफपीलाई विवाद सुल्झाउने वार्ता अझै जारी रहेको बताएका थिए ।