काठमाडौँ, १६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को टोली लुम्बिनी लायन्सलाई नेपालको मोबाइल सेवा प्रदायक एनसेलले साथ दिएको छ ।
लुम्बिनी लायन्सको मुख्य प्रायोजकका रूपमा एनसेलले साथ दिएको हो । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले हस्ताक्षर गर्दै पत्र आदानप्रदान गर्नुभएको हो ।
सो अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक काइमोभले एनसेललाई लुम्बिनी लायन्ससँग जोड्न पाउँदा खुसी लागेको बताउनुभयो । यस्तै, लुम्बिनी लायन्सका अध्यक्ष जिसीले एनसेललाई मुख्य प्रायोजकका रूपमा स्वागत गर्न पाउनु गौरवको विषय भएको जिकिर गर्नुभयो ।
उक्त कार्यक्रममा लुम्बिनी लायन्सको नयाँ जर्सी समेत सार्वजनिक गरिएको छ । उक्त जर्सी नेपाली चलचित्रका अभिनेता तथा लुम्बिनी लायन्सका ब्रान्ड एम्बासडर राजेश हमाल, लुम्बिनी लायन्सका अध्यक्ष जिसी, एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक काइमोभ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लुम्बिनीका मार्की खेलाडी रोहितकुमार पौडेलले सार्वजनिक गर्नुभएको हो । पहिलो संस्करणको एनपिएल शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भएको छ । यसको मुख्य प्रायोजक सिद्धार्थ बैङ्क रहेको छ ।