जुम्ला, १६ मङ्सिरः जिल्लाको तिला गाउँपालिका–५ स्थित ढिम्कोट गाउँका भेडापालक किसान कर्णवीर शाहीका २५ भेडा मरेका छन् । भेडापालक किसान शाहीका ४० वटा भेडामध्ये एक्कासि २५ भेडा मरेका हुन् । अज्ञात रोगले जाजरकोटको छेडागाड नगरपालिका–७ मा रहेको पौँजा भन्ने ठाउँमा भेडा मरेका तिला-५ का वडाध्यक्ष ललित शाहीले जानकारी दिनुभयो ।
भेडा मर्न थालेपछि राहत र उपचारका लागि सम्बन्धित निकायलाई जानकारी गरेको तीन दिन भए पनि हालसम्म कसैबाट सहयोग पाउन नसकेको भेडापालक किसान शाहीले गुनासो गर्नुभयो ।
शाहीका अनुसार चरिचरनका लागि जुम्लाबाट जाजरकोटको छेडागाड नगरपालिका–७ मा रहेको पौँजा भन्ने ठाउँमा भेडा ल्याइएका छन् । “तीन दिनभित्र २५ वटा भेडा मरिसके । बिरामी भेडाको मुखबाट र दिसा पिसाब गर्ने ठाउँबाट रगत निस्कने गरेको छ । बाँकी रहेका भेडालाई बचाउन सरोकारवालासँग हारगुहार गरे पनि सुनुवाइ हुन सकेको छैन । रगत निस्किएको एक घण्टाभित्रै भेडा मर्ने गरेका छन्”, भेडापालक किसान शाहीले भन्नुभयो ।
वडाध्यक्ष शाहीका अनुसार गत आव २०८०÷८१ को जिल्ला पशु सेवा कार्यालय जुम्ला र तिला गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत माईथाप्ला भेडा पकेट कार्यक्रमबाट तिला गाउँपालिका–५ का विपन्न घरपरिवारलाई भेडा वितरण गरिएका थिए ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रबहादुर बुढ्थापाले जाजरकोट पशु अस्पतालका प्रमुख कपिलप्रसाद उपाध्यायलाई घटनाबारे जानकारी गरिएको बताउनुभयो ।
---