मंसिर १६, २०८१ आइतबार

काठमाडौँ, १६ मङ्सिरः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयअन्तर्गतको उच्च व्यवस्थापन समूहको बैठकमा उहाँले प्रधानमन्त्रीले खोज्नुभएको  रूपान्तरणको योजनालाई ख्याल गर्दै नागरिकप्रतिको उत्तरदायित्व महसुस गरी सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयन कार्यविधि र प्रारूप अनुसार काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत मन्त्रालय मातहतका  निकायसँग निरन्तर संवादसहित अन्तरनिकाय समन्वयमा काम गर्न आग्रह गर्नुभयो ।

उहाँले समन्वय र सहकार्यको अभावमा कार्यसम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्वका भावनाअनुसार प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

बैठकमा मन्त्रालयका सचिवहरूसहित, महाशाखा प्रमुख, विभागीय प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।