मंसिर १६, २०८१ आइतबार

काठमाडौँ, १६ मङ्सिरः पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न आज पशुपति क्षेत्रमा घुइँचो लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसी गरी वर्षमा दुई दिन बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने नियम छ । त्रयोदशीका दिन यी बहुमूल्य सामग्री वर्ष दिनसम्म सुरक्षित साथ राखियो भन्ने सन्देश प्रवाह गर्न देखाइन्छ । औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षित साथ राखिन्छ भनी देखाउन यी सामग्री प्रदर्शन गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  

यसैगरी, मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर देखाउने गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।    

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन आजै भण्डारको तेस्रो तलामा राखिएको छ । राख्नुअघि अर्थात् बिहान १० बजेअघि पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाउने गरिएको हो । 

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायको रोहवरमा पालोवालालाई बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने परम्परा रहिआएको छ । बालाचतुर्दशी मेला भर्न देशका विभिन्न भागबाट आएका भक्तजनले यी सामग्री हेरेर फर्कने गरेका छन् ।