मंसिर १७, २०८१ सोमबार

बागमती, १७ मङ्सिरः हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द तीन उद्योगमाथि कारबाही प्रकृया अघि बढाएको छ । विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । 

विभिन्न कारणले बन्द रहेका ती उद्योग सञ्चालकलाई पटक–पटक पत्राचार गरिए पनि सम्पर्कमा आउन नचाहेकाले कारबाही प्रकृया अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताउनुभयो । ‘‘हामीले सञ्चालकलाई निरन्तर फोन र पत्रचार गरी बोलाइरहेका छौँ”, प्रमुख कुवरले भन्नुभयो, ‘‘तर तीमध्ये नेपाल ब्रुअरीका सञ्चालक सम्पर्कमा आउनुभएको छैन, ग्रीन गोल्ड र बानियाँ मल्टी प्रोडक्टका सञ्चालक केही समय सम्पर्क आएर उद्योग चलाउँछु भनेर जानुभएको थियो । त्यसपछि उहाँहरु पनि सम्पर्कमा आउनुभएन ।”

उद्योगका लागि जग्गा ओगटेर राख्ने तर उद्योग नचलाउने गरेकाले कारबाही प्रक्रिया अघि बढाएको प्रमुख कुँवरको भनाइ छ ।  कारबाहीस्वरुप नेपाल ब्रुअरी प्रालिको विद्युत् लाइन काटिएको र अन्य कारबाही प्रकृया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । 

ग्रिन गोल्ड र बानिया मल्टी प्रोडक्ट उद्योगमा जडान गरिएको विद्युत् र खानेपानी लाइन काट्ने तयारी भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयसँग सम्झौता गरेर पनि लामो समयदेखि उद्योग सञ्चालन नगर्ने पाँच उद्योगको सम्झौता खारेज गरिएको छ । 

अमेरिकाको आर्थिक सहयोगमा विसं २०२० मा स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४४ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिइ उद्योग सञ्चालन गरिरहेका छन् । कुल तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र हाल १२ उद्योग निर्माणाधीन अवस्थामा छन् । 

    कूल क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार एक सय ७८ रोपनी, खाली जमिन २६ दशमलब ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल पाँच सय ९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ ओटा रहेका छन् ।   

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्रका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ । 

मुलुककै सबैभन्दा ठूलो यस औद्योगिक क्षेत्रमा सुरक्षा चुनौती बढ्दो छ । औद्योगिक क्षेत्रको चारैतिर पर्खाल लगाउन नसक्दा सुरक्षा चुनौती बढेको कार्यालय प्रमुख कुँवरले बताउनुभयो । 

औद्योगिक क्षेत्रकोबीचबाटै सार्वजनिक बाटो भएकाले सुरक्षा चुनौती बढेको उहाँको भनाइ छ । ‘‘हामीले पर्खाल लगाउन पटक– पटक प्रयास ग¥यौँ, तर स्थानीयले अवरोध गर्दै आएका छन्”, प्रमुख कुँवरले भन्नुभयो ।