अर्घाखाँची, १७ मङ्सिरः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखापरेका स्वास्थ्य समस्या निदान गर्न विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसँग आज राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभएको हो ।
तथ्याङ्क आधारमा लुम्बिनी प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बालविवाह, कुपोषण, मानसिक रोग, नसर्ने रोगजस्ता स्वास्थ्य समस्या उच्च रहेको उल्लेख गर्दै उहाँले यी स्वास्थ्य समस्या निदानका लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्रै सम्भव नरहेको बताउनुभयो ।
“विश्व स्वास्थ्य सङ्गठनले नेपाल र लुम्बिनीको स्वास्थ्य क्षेत्रमा गरेको लगानीको उच्च प्रशंसा गर्न चाहन्छु । आगामी दिनमा पनि लुम्बिनी प्रदेशमा विश्व स्वास्थ्य सङ्गठनको साथ सहयोग चाहिन्छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “तथ्याङ्कले देखाएका स्वास्थ्यका कमजोर सूचकमा मिलेर काम गर्न जरुरी छ । प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बाल विवाह, कुपोषणजस्ता समस्या निदान गर्न मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ ।”
विश्व स्वास्थ्य सङ्गठनले अहिले लुम्बिनी प्रदेशमा खोप तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न प्रशिक्षणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । आगामी दिनमा मानसिक स्वास्थ्य र नसर्ने रोगको उपचारका लागि पनि सहकार्य गर्ने बारेमा विश्व स्वास्थ्य सङ्गठनलाई अनुरोध गरिएको लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा बासुदेव उपाध्यायले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डवको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यसँग भेट गरेको थियो । सो भेटमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश योजना आयोगा उपाध्यक्ष डा डिल्लीराज अर्याल, स्वास्थ्य सचिव डा बासुदेव उपाध्याय, मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसाललगायत सहभागी हुनुहुन्थ्यो ।