काठमाडौँ, १७ मङ्सिर : प्रधान सेनापति महारथी अशोकराज सिग्देलले विगत द्वन्द्व तथा कर्तव्यपालनको दौरान वीरगति प्राप्त गरेका सकलदर्जाका एकल महिलाहरूसँग भेटघाट गर्नुभएको छ ।
आज यहाँ जङ्गी अड्डामा भएको भेटघाट कार्यक्रममा प्रधान सेनापतिले विगत द्वन्द्वको समयलगायत विभिन्न अवस्थामा कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त सकलदर्जाको योगदानलाई स्मरण गर्दै अपूरणीय क्षतिको बाबजुद शोकलाई शक्तिमा बदली एकल महिलाले समाजमा विभिन्न उद्यममार्फत आफूलगायत आफ्ना सन्ततीलाई स्थापित गराएकोमा प्रशंसा गर्नुभयो । उहाँले वीरगति प्राप्त सकलदर्जाको हकहितका लागि सदैब प्रयत्नशिल रहेको बताउनुभयो ।
सो असवरमा एकल महिला भएपश्चात आफ्नो अध्ययनलाई निरन्तरता दिई उच्च शिक्षा हासिल गर्ने एकल महिला श्रीमती नारायणी कँडेल र आफ्नो सन्ततीलाई उच्च शिक्षा हासिल गर्न प्रेरणा दिई सफल अभिभावकत्व निर्वाह गर्ने श्रीमती रिता भण्डारीलाई सम्मानित हुनुभयो ।
प्रधान सेनापतिले उहाँहरूलाई नगद रू ४० हजारसहित सम्मान गर्नुभएको थियो । उपस्थित वीरगति प्राप्त सकलदर्जाका परिवारलाई नगद र दोसल्लासहित सम्मान गर्नुभयो ।
प्रधान सेनापतिले पदवाहलीपश्चात सकलदर्जालाई गर्नुभएको पहिलो सम्बोधनका क्रममा वीरगति प्राप्त तथा कर्तव्यपालनको सिलसिलामा मृत्यु भएका सकलदर्जाका एकल महिला एवं पारिवारिक निवृत्तीभरणमा रहेका एक महिलालाई प्रदान गरिँदै आएको कल्याणकारी निवृत्तीभरणमा मासिक रू पाँच सयका दरले थप गर्ने उल्लेख गर्नुभएको थियो ।
सोहीअनुरूप उक्त समूहमा रहेका एकल महिलालाई नेपाली सेनाले पारिवारिक निवृत्तीभरणको रूपमा वीरगतितर्फ मासिक रू चार हजार र कर्तव्य पालनातर्फ मासिक रू तीन हजार प्रदान गर्दैआई आएको छ । उक्त कार्यक्रममा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसी, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो ।