मंसिर १८, २०८१ मंगलबार

    बैङ्कक(थाइल्याण्ड), १८ मङ्सिर;  दक्षिणी थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेका अधिकारीहरूले मङ्गलबार बताएका छन् । अझै केही दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।     
     
नोभेम्बरको अन्त्यदेखि दक्षिणी थाइल्याण्डका बाह्र प्रान्तमा बाढीले चार लाख १० हजार ४५१ मानिसहरूलाई प्रभावित बनाएको छ ।     
     
थाई सरकारको जनसम्पर्क विभागले पट्टानी, नाराथिवाट, सोङ्खला र याला प्रान्तमा बाढीका कारण २२ हजारभन्दा बढी मानिसहरु बाढीबमाट विस्थापित भएको जनाएको छ ।     
     
सोङखलाको पोल्ट्री फार्मका मालिक सुवास बिन–उमाले भन्नुभयो,“बाढीले १० हजार भन्दा बढी कुखुरा नष्ट गर्दा मैले कम्तिमा तीन लाख भाट गुमाएँ ।”     
     
थाई मौसम विभागले मङ्गलबार डिसेम्बर छ सम्म भारी वर्षा जारी रहने चेतावनी दिएको छ ।     
     
सरकारले बाढी प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली खटाएको र प्रत्येक प्रदेशलाई बाढी राहतका लागि छ करोड भाट तोकिएको छ ।     
     
 मङ्गलबार थाई मन्त्रिपरिषद्ले प्रभावितहरूलाई सहयोग गर्न प्रति परिवार नौ हजार भाट भुक्तानलाई अनुमोदन गरेको छ ।     
     
छिमेकी उत्तरी मलेसियामा प्रकोप अधिकारीहरूले मङ्गलबार बाढीका कारण ९४ हजार भन्दा बढी मानिसहरू अझै पनि आफ्नो घर फर्कन नसकेका जनाएका छन् । पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।     
     
सन् २०११ मा, देशभरि व्यापक बाढीले ५०० भन्दा बढी मानिसहरूको ज्यान लियो र लाखौं घरहरूलाई क्षति पुर्याएको थियो ।