मंसिर १९, २०८१ बुधबार

कास्की, १९ मङ्सिर : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताउनुभएको छ ।

    पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको बताउनुभयो । उहाँले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रबार मिति घोषणा हुने जानकारी दिनुभयो ।

    “खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मङ्सिरमा राष्ट्रिय खेलकुद हुनसकेन । अब फागुन अन्तिम साता गर्ने लक्ष्य राखेका छौँ”, मन्त्री चौधरीले भन्नुभयो । पोखरामा खेलकुदका पूर्वाधार निर्माणका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । नेपालमा सन् २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरामा समेत खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि केही दिनअघि पोखराको क्रिकेट मैदान निरीक्षण गरेको थियो । आइसिसीले खेल पूर्वाधार निर्माण भएको खण्डमा यहाँ खेलाउन सम्भव हुने जनाएको थियो । 

    पोखरामा खेलकुदको धेरै सम्भावना रहेको र खेल पूर्वाधार समेत अन्यत्र भन्दा राम्रो रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सम्भव हुने मन्त्री चौधरीको भनाइ थियो ।